
विराटनगर । कोशीका तीन जिल्लाबाट लागूऔषधसहित ११ जना पक्राउ परेका छन् । उनीहरूलाई झापा, मोरङ र सुनसरीका विभिन्न स्थानबाट पक्राउ गरिएको हो । भद्रपुर नगरपालिका-५ बाट सोही स्थानका २९ वर्षीय जहागी शेखलाई २ ग्राम ३ सय मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेका छन् ।
यस्तै मेचीनगर नगरपालिका-१० धुलाबारीका २७ वर्षीय गुलाम रसुल मिया १ ग्राम ६ सय मिलिग्राम र इलामको माईजोगमाई गाउँपालिका-१ घर भई बिर्तामोड बस्ने २४ वर्षीय फुर्वा तामाङ ३ ग्राम ६१० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय झिलझिलेले ५८६ ग्राम गाँजा सहित शिवसताक्षी नगरपालिका-९ की ४३ वर्षीया आशा चौधरीलाई पक्राउ गरेको छ । यसैगरी जिल्ला प्रहरी कार्यालय सुनसरीले इटहरी-१ की ३६ वर्षीया प्रगति खतिवडा र इटहरी-५ का ३१ वर्षीय विश्वराज राईलाई १० ग्राम ब्राउन सुगरसहित इनरुवा-४ बाट पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय इटहरीले इटहरी-२ का २९ वर्षीय रविन प्रधान, धरान-२ का १९ वर्षीय अतीत भण्डारी र मोरङको सुन्दरहरैंचा-४ की अम्बिका ओझालाई ११० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ ।
यसैगरी अस्थायी प्रहरी चौकी कानेपोखरी मोरङको टोलीले प्र १-०२-०४८ प १८८४ नम्बरको स्कुटरमा सवार कानेपोखरी-५ का ३३ वर्षीय वीर बहादुर घिसिङ र पछाडि सवार कानेपोखरी-७ का ३७ वर्षीय सन्तोष लिम्बुलाई १२ ग्राम ८८० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ ।
पक्राउ परेका सबै जनाविरुद्ध सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।


संगालोखबर 
















