संगालोखबर

विराटनगर । प्रधानमन्त्री बालेन्द्र शाह संसद्मा उपस्थित नभएको विषयलाई लिएर प्रतिनिधिसभामा विपक्षी दलहरूले फेरि अवरोध गरेका छन् । प्रधानमन्त्री स्वयं उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नको जवाफ नदिएसम्म सदन चल्न नदिने अडान विपक्षी दलहरूले दोहोर्याएका हुन् ।

Advertisement

मङ्गलबार बसेको प्रतिनिधिसभा बैठकमा आकस्मिक, शून्य र विशेष समय सकिएपछि कार्यसूचीमा प्रवेश गर्न लाग्दा विपक्षी सांसदहरू उठेर विरोध जनाएका हुन् । त्यसपछि सभामुखले विपक्षी दलका प्रतिनिधिलाई धारणा राख्न समय दिएका थिए ।

विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री संसद्प्रति जिम्मेवार हुनुपर्ने भन्दै उपस्थित भएर स्पष्ट जवाफ दिनुपर्ने माग गरेका छन् । नेपाली काङ्ग्रेसकी प्रमुख सचेतक बासना थापाले जनताका जिज्ञासा र सांसदहरूले उठाएका विषयमा प्रधानमन्त्रीले प्रत्यक्ष रूपमा जवाफ दिनुपर्ने बताइन् ।

त्यस्तै, नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले संविधान र कानुनी व्यवस्थाअनुसार पनि प्रधानमन्त्री संसद्मा उपस्थित हुनुपर्ने दाबी गरे । संसद्को गरिमा जोगाउन प्रधानमन्त्रीको उपस्थिति आवश्यक रहेको उनको भनाइ थियो ।

नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले संविधान र संसदीय अभ्यासको सम्मान गर्न सबै दल जिम्मेवार हुनुपर्ने बताए । प्रधानमन्त्री केही समयका लागि भए पनि संसद्मा आएर रोष्ट्रमबाट धारणा राख्नुपर्ने उनको माग थियो ।

यसैबीच, श्रम संस्कृति पार्टीका आरेन राईले अहिलेको घटनाक्रमले भविष्यका लागि कस्तो राजनीतिक नजिर बस्छ भन्ने विषयमा सबै दल गम्भीर हुनुपर्ने बताए । सङ्ख्याको बल सधैँ स्थायी नहुने उल्लेख गर्दै उनले सत्ता र प्रतिपक्ष दुवैले लोकतान्त्रिक संस्कारलाई आत्मसात् गर्नुपर्ने धारणा राखे ।
‘प्रधानमन्त्री संसद्मा आएर सांसदका प्रश्नको सामना गर्न तयार नभएसम्म हाम्रो विरोध जारी रहन्छ,’ उनले भने ।

राप्रपाकी प्रमुख सचेतक खुस्बु ओलीले प्रधानमन्त्रीको उपस्थितिका लागि सत्तारुढ दलले पनि सक्रिय पहल गर्नुपर्ने बताइन् । जनप्रतिनिधिसँग संवाद गर्न प्रधानमन्त्री किन तयार नभएको भन्दै उनले प्रश्न उठाइन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!