संगालोखबर


विराटनगर । मोरङमा सुनजस्तो देखिने पहेँलो धातुको टिल देखाएर वृद्धवृद्धालाई ठगी तथा लुटपाट गर्ने गिरोहका अभियुक्त पक्राउ परेका छन् । यसअघि पनि यस्तै घटनामा पक्राउ परिसकेका एक अभियुक्त पुनः आपराधिक ठगी गर्ने गतिविधिमा संलग्न रहेको खुलेपछि प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धकलबहादुर थिङ रहेका छन् । झापाको कनकाई नगरपालिका-९ घैलाडुब्बाका ६१ वर्षीय थिङले अर्का एक व्यक्तिसँग मिलेर बेलबारीकी ७८ वर्षीया सावित्रादेवी घिमिरेको सुनको सिक्री लुटेको मोरङ प्रहरीले जनाएको छ ।

Advertisement

वैशाख २ गते सार्वजनिक बसबाट घर फर्किरहेकी वृद्धालाई दुई अपरिचित व्यक्तिले सुन पसल सोध्ने बहानामा एकान्त स्थानतर्फ लगेका थिए । त्यसपछि ‘यूकेबाट ल्याएको सुन’ भन्दै सुनजस्तै देखिने पहेँलो धातुको टिल देखाएर प्रलोभनमा पारिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार वृद्धाले लगाएको १ तोला ६ आनाको सुनको सिक्री खोस्न खोज्दा नमानेपछि उनीहरूले डरत्रास देखाएर जबरजस्ती लुटपाट गरेका थिए । त्यसपछि नक्कली धातुको टिल हातमा थमाएर दुवै जना फरार भएका थिए ।

घटनापछि इलाका प्रहरी कार्यालय बेलबारीले सिसिटिभी फुटेज र हुलियाको आधारमा अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानका क्रममा थिङको संलग्नता खुलेपछि उनलाई झापास्थित घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले थिङको साथबाट सुनको सिक्री, नगद र मोबाइल बरामद गरेको छ । प्रारम्भिक बयानमा उनले यसअघि पनि वृद्ध महिलालाई नक्कली सुन देखाएर गरगहना लुट्ने काममा संलग्न रहेको स्वीकार गरेका छन् ।

प्रहरीका अनुसार थिङ पूर्वी नेपालका विभिन्न जिल्लामा सक्रिय संगठित ठगी गिरोहसँग आबद्ध छन् । गिरोहले सार्वजनिक सवारीसाधन, हटिया, अस्पताल, मेला तथा भिडभाड हुने स्थानमा पुगेर विशेषगरी वृद्धवृद्धा र सोझा सर्वसाधारणलाई निशाना बनाउने गरेको पाइएको छ ।

यसअघि २०८१ मंसिरमा पनि मोरङ प्रहरीले थिङसहित ६ जनालाई यस्तै प्रकृतिको घटनामा पक्राउ गरेको थियो । त्यतिबेला सुनजस्तो देखिने नक्कली गरगहनासहित दुई भारतीय नागरिकसमेत पक्राउ परेका थिए । मोरङ प्रहरीका अनुसार घटनामा संलग्न अर्का व्यक्तिको पहिचान भइसकेको छ र उनको खोजी भइरहेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!