
काठमाडौं । वसन्तकालीन हिमाल आरोहण याम अन्तर्गत बुधबार मात्रै २७४ जना आरोहीले विश्वको सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गरेका छन् । यो संख्या नेपाली पर्वतीय पर्यटनको इतिहासमै एकैदिन शिखर पुग्ने आरोहीमध्ये अहिलेसम्मकै उच्च भएको बताइएको छ ।
पर्वतारोहण सञ्चालक सङ्घका महासचिव ऋषिराम भण्डारीका अनुसार वैशाख ३० गते आरोहण मार्ग खुलेपछि हालसम्मको सबैभन्दा धेरै आरोही बुधबार शिखर पुगेका हुन् । पछिल्लो एक सातामा मात्रै १४० जना आरोहीले सफल आरोहण गरेर आधार शिविर फर्किसकेको जानकारी दिँदै उनले बुधबारको संख्या नयाँ कीर्तिमान भएको बताएका छन् ।
दुई दिनयता उच्च हिमाली क्षेत्रमा हिमआँधी बढे पनि मौसम अनुकूल रहे आगामी केही दिनभित्रै अझ धेरै आरोही शिखरतर्फ जाने तयारीमा रहेका छन् । पर्यटन व्यवसायीहरूले यस वर्ष सगरमाथामा सबैभन्दा धेरै सफल आरोहणको नयाँ रेकर्ड बन्न सक्ने अनुमान गरेका छन् ।
यसैबीच ल्होत्से हिमालमा ५० भन्दा बढी तथा नुप्से मा १६ जनाभन्दा बढी आरोहीले सफल आरोहण गरिसकेका छन् । यस वर्ष ल्होत्सेका लागि १४३ र नुप्सेका लागि ५६ जनाले अनुमति लिएका छन् ।
पर्यटन विभागका अनुसार यस वर्षको वसन्तकालीन याममा सगरमाथा आरोहणका लागि ४९४ जनाले अनुमति लिएका छन् । प्रत्येक विदेशी आरोहीसँग सहयोगी शेर्पासमेत रहने भएकाले कुल आरोही संख्या एक हजार नजिक पुग्ने अनुमान गरिएको छ । विभागका अनुसार यो हालसम्मकै सबैभन्दा धेरै आरोहण अनुमति हो ।
यसअघि सन् २०२१ मा ४०८, २०२२ मा ३२५, २०२३ मा ४७८, २०२४ मा ४२१ र २०२५ मा ४५६ जनाले सगरमाथा आरोहण अनुमति लिएका थिए । विभागको तथ्यांकअनुसार यस वर्ष नेपालसहित ५५ देशका आरोहीले अनुमति लिएका छन् । तीमध्ये चीनका १०९, अमेरिकाका ७७, भारतका ६१, बेलायतका ३२, रसियाका १८ र जापानका १२ जना आरोही रहेका छन् ।
यस याममा विभागले ६ हजार मिटरभन्दा माथिका ३० वटा हिमालमा आरोहण अनुमति जारी गरेको छ । जसमा सगरमाथापछि ल्होत्से, अमादब्लम, मकालु र नुप्सेमा उल्लेख्य सङ्ख्यामा आरोहीले अनुमति लिएका छन् ।


संगालोखबर 
















