
झापा । झापाको हल्दीबारीमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । हल्दीबारी–५ धनुषपोखरी नजिक गएराति गोकर्ण भनिने गणेश भण्डारीले ३३ वर्षीया श्रीमती उर्मिला भण्डारीको हत्या गरेका हुन् ।
गणेशले टाउकोमा दाउ प्रहार गर्दा घटनास्थलमै उर्मिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । मादक पदार्थ सेवन गरेर घर फर्किएका गणेश र उर्मिलाबीच सामान्य विवाद सुरु भएको थियो । विवाद उग्र बन्दै जाँदा गणेशले आक्रोशमा आएर श्रीमतीमाथि आक्रमण गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
घटनापछि गणेशले आफूले श्रीमतीको हत्या गरेको भन्दै छिमेकीलाई सुनाउँदै हिँडेका थिए । त्यसपछि स्थानीयले उनलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन् ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


संगालोखबर 

















