
विराटनगर । भारतका उच्च शिक्षा प्रदायक शैक्षिक संस्थाहरूबारे एकै छानामुनि जानकारी गराउने उद्देश्यले विराटनगरमा ‘मेगा इण्डियन एजुकेशन एक्स्पो’ (शैक्षिक मेला) आयोजना गरिएको छ ।
इन्डो ग्लोबल फाउण्डेशन काठमाडाैंको आयोजना तथा विराटनगरस्थित कृष्णा एजुकेशन फाउण्डेशनको सहयोगमा शैक्षिक मेला आयोजना गरिएको हो ।
विराटनगरको सिटी प्यालेसमा सञ्चालित उक्त एक्स्पोमा भारतका १५ भन्दा बढी प्रतिष्ठित विश्वविद्यालय तथा कलेजहरूको सहभागिता रहेको छ । एक्स्पोमा कक्षा १२ को परीक्षा दिएर बसेका तथा उच्च शिक्षा हासिल गर्न इच्छुक विद्यार्थीहरूलाई भारतीय कलेजका प्रतिनिधिहरूले प्रत्यक्ष परामर्श (काउन्सिलिङ) गराइरहेका छन् ।
त्यसक्रममा प्रतिनिधिहरूले विद्यार्थीलाई कलेजका विभिन्न संकाय, शुल्क विवरण, अन्य सम्भावित खर्च र रोजगारीको अवसर (जब प्लेसमेन्ट) सहितका आफ्ना विशेषताहरूबारे विस्तृत जानकारी गराइरहेका छन् । एक्सपोमा सहभागी विद्यार्थीमध्ये उत्कृष्ट तीन जनालाई ‘एस.जे.ई. ग्रुप अफ इन्स्टिच्युसन्स’ ले कलेज ट्युसन शुल्कमा शतप्रतिशत (१००%) सम्म छुट दिने कृष्णा एजुकेशन फाउण्डेशनका सञ्चालक कृष्ण जायसवालले जानकारी दिए ।
भारतमा अध्ययन गर्न चाहने विद्यार्थीहरूले विभिन्न सहर धाउनुपर्ने बाध्यतालाई अन्त्य गर्दै विराटनगरमै एकै छानामुनि सम्पूर्ण जानकारी उपलब्ध गराउन एक्स्पो सफल भएको आयोजक इन्डो ग्लोबल फाउण्डेशन काठमाडाैंका निर्देशक सुदन चौहानले बताए ।
एक्स्पोमा सहभागी विद्यार्थीहरूमध्ये गोला प्रथा (लक्की ड्र) मार्फत दुई जनालाई एन्ड्रोइड मोबाइल समेत वितरण गरिने आयोजक समितिले जनाएको छ । मेलामा विराटनगर, इटहरी, धरान र इनरुवा लगायत आसपासका पालिकाका विद्यार्थीहरूले अवलोकन गरिरहेका छन् । एक्स्पो आज साँझ साढे ५ बजेसम्म सञ्चालन हुने आयाेजकले जनाएकाे छ ।


संगालोखबर 

















