
विराटनगर । उच्च शिक्षा सम्बन्धी शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको विराटनगरस्थित अचिभर्स कन्सल्टिङ सर्भिसेसले पाँच जना विद्यार्थीलाई निःशुल्क पढाइदिने भएको छ । पढाई राम्रो भएका, गरिब, जेहनदार र अपाङ्गता भएका विद्यार्थीलाई अचिभर्स आफैले खर्च व्यहोरेर कक्षा ११ र १२ निःशुल्क पढाइदिन लागेको हो ।
समाजप्रतिको सामाजिक उत्तरदायित्व पुरा गर्न पाँच जना विद्यार्थीहरूलाई विराटनगरको प्रतिष्ठित कलेजमा निःशुल्क पढ्ने व्यवस्था मिलाइदिन लागेको अचिभर्स कन्सल्टिङ सर्भिसेसका सञ्चालक सुनिल जैसवालले जानकारी दिनुभयो । ‘लिडर्स स्कलरसिप-२०२६’ नाम दिइएको सो छात्रवृत्तिका लागि छनौट गर्न आज विद्यार्थीहरूको परीक्षा पनि लिइएको छ । जसमा करिब १ सय ५० विद्यार्थी सामेल थिए ।
छनौट परीक्षामा राम्रो नतिजा ल्याउने मध्ये खुल्लातर्फ दुई जना, गरिब तथा जेहनदारतर्फ दुई जना र अपाङ्गता भएका एक जना विद्यार्थीलाई विराटनगरको राम्रो कलेजमा आफूले रोजेको विषय निःशुल्क पढ्ने व्यवस्था मिलाइने अचिभर्स कन्सल्टिङका सञ्चालक जैसवालले बताउँनुभयो ।

हरेक बर्ष सामाजिक काम पनि गर्दै आएको अचिभर्सले यसअघि विद्यार्थीलाई पोशाक, शैक्षिक सामग्री, खेलकुद सामग्री लगायत वितरण गरेको थियो । अचिभर्सले भारत, अमेरिका, अस्ट्रेलिया, क्यानडा, युके, कोरिया लगायत देशमा विद्यार्थीलाई उच्च शिक्षा पढ्न पठाउँदै आएको छ ।
विराटनगरमा १३ वर्षअघि खुलेको अचिभर्सले अहिले काठमाडौँ, नेपालगञ्ज, राजविराज, लहान, इनरुवा लगायत स्थानमा पनि शाखा स्थापना गरेर काम गर्दै आएको छ ।


संगालोखबर 




















