
विराटनगर । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरमा आज साँझ पत्रकार सम्मेलन गरेर नतिजा सार्वजनिक गरेको हो । एसईईमा यस वर्ष ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
नतिजा अनुसार ४८ हजार ३ सय ९२ विद्यार्थीले सबैभन्दा बढी जीपीए (३.६० देखि ४.००) ल्याएका छन् । ४ लाख ३० हजार ६६७ विद्यार्थीमध्ये सबैभन्दा बढी जीपीए ४८ हजार बढीले ल्याएका हुन् । जीपीए (३.२० देखि ३.६०) सम्म ल्याउने विद्यार्थीको संख्या ८० हजार ३७२ छ ।
२.८० देखि ३.२० सम्मको जीपीए ल्याउने विद्यार्थीको संख्या ९४ हजार २२२ छ भने ५५ हजार ९७७ विद्यार्थीले यस वर्ष २.४० देखि २.८० जीपीए ल्याएका छन् । जीपीए २.०० देखि २.४० सम्म ल्याउने विद्यार्थीको संख्या ५ हजार १९० छ । यता, ७ जना विद्यार्थीले १.६० देखि २.०० जीपीए ल्याएका छन् ।
एसईई परीक्षा गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको थियो । यसपटक परीक्षा केन्द्रमै उत्तरपुस्तिका जाँच गरिएकाले चाँडै नतिजा सार्वजनिक भएको बोर्डले जनाएको छ ।


संगालोखबर 














