
विराटनगर । विराटनगरकै पहिलो पाँचतारे ‘लेमन ट्री प्रिमियर’ होटल सञ्चालनमा आएको छ । जुन नेपालमा लेमन ट्री होटल्स लिमिटेडको तेस्रो होटल हो । युवा उद्यमीहरू मनोजविक्रम शाह, कबिन श्रेष्ठ, विकास चौधरी र प्रशान्त तातेडको करिब दुई अर्ब रुपैयाँ लगानीमा विराटनगर-५ भृकुटी चोकमा होटल सञ्चालनमा आएको हो ।
यो होटलमा ८० वटा आधुनिक कोठा र सुइटहरूका साथै विभिन्न खानपान र सभा-सम्मेलनका सुविधाहरू रहेका छन् । विराटनगरलाई नेपालको औद्योगिक केन्द्रका रूपमा चिनिने भए पनि हाल यो आधुनिक शहरको रूपमा विकास भइरहेको सन्दर्भमा यो शहरकै पहिलो ठूलो ब्रान्डेड होटल भएको जनाइएको छ ।

‘यो होटल कोशी प्रदेशको राजधानी विराटनगरमा रणनीतिक हिसाबले महत्त्वपूर्ण स्थानमा रहेको छ, जहाँबाट कोशी टप्पु वन्यजन्तु आरक्ष र बराहक्षेत्र जस्ता पर्यटकीय तथा धार्मिक स्थलहरूमा सहजै पुग्न सकिन्छ’, होटलले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।
विराटनगर विमानस्थलबाट ३.५ किलोमिटरको दुरीमा रहेको यस होटलले आन्तरिक र अन्तर्राष्ट्रिय यात्रीहरूलाई सहज कनेक्टिभिटी प्रदान गर्ने विश्वास छ । होटलमा पान-एसियन रेस्टुरेन्ट, रिपब्लिक अफ नुडल्स, साइट्रस क्याफे, स्लाउञ्ज बार र टी लाउञ्ज जस्ता खानपानका विकल्पहरू उपलब्ध छन् ।

व्यावसायिक र सामाजिक कार्यक्रमहरूका लागि यहाँ ट्यान्जरिन बलरूम र सुविधासम्पन्न बोर्डरूमको व्यवस्था गरिएको छ भने मनोरञ्जनका लागि फ्रेस्को स्पा, फिटनेस सेन्टर र पौडी पोखरीको सुविधा रहेको होटलले जनाएको छ ।
लेमन ट्री होटल्सका अध्यक्ष विश्वप्रीत सिंह चिमाका अनुसार विराटनगरको आर्थिक विकास र आधुनिकतासँगै यो होटलले विश्वस्तरीय हस्पिटालिटी प्रदान गर्दै शहरको वृद्धिमा दीर्घकालीन सहयोग पुर्याउने लक्ष्य राखेको छ ।
लेमन ट्री होटल्सले हाल भारत र विदेशका ८० बढी शहरहरूमा १३० भन्दा बढी होटलहरू सञ्चालन गरिरहेको छ ।


संगालोखबर 




















