संगालोखबर


विराटनगर । भारतको जोगवनी हुँदै विराटनगर नाका भएर नेपाल प्रवेश गर्ने सबैले अबदेखि अनिवार्य रूपमा परिचयपत्र देखाउनुपर्ने व्यवस्था लागू भएको छ । सीमा सुरक्षालाई मजबुत बनाउन र अवैध गतिविधि तथा तस्करी नियन्त्रण गर्ने उद्देश्यसहित सीमा क्षेत्रमा कडाइ गरिएको हो ।

मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेल नेतृत्वको टोलीले आज जोगवनी-विराटनगर सीमा क्षेत्रमा स्थलगत अनुगमन गर्दै नयाँ व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो ।

अनुगमनका क्रममा उनले सीमा नाकाबाट नेपाल प्रवेश गर्ने प्रत्येकले आफ्नो परिचय खुल्ने आधिकारिक कागजात अनिवार्य रूपमा देखाउनुपर्ने स्पष्ट निर्देशन दिएका हुन् । प्रशासनको यो कदमसँगै सुरक्षा निकायले सीमा क्षेत्रमा माइकिङ गर्दै परिचयपत्र अनिवार्य गरिएको जानकारी सर्वसाधारणलाई दिइरहेका छन् ।

भारतीय भूमिबाट नेपाल प्रवेश गर्ने व्यक्तिहरूले आधार कार्ड, नागरिकता वा अन्य मान्य परिचयपत्र देखाउनुपर्ने व्यवस्था कडाइका साथ लागू गरिएको मोरङ प्रहरीले जनाएको छ ।

जोगवनी नाका हुँदै दैनिक सयौँको संख्यामा सर्वसाधारण किनमेल, रोजगारी तथा अन्य कामका लागि नेपाल-भारत ओहोरदोहोर गर्ने भएकाले कडाइ आवश्यक भएको प्रशासनको भनाइ छ । विराटनगर मात्र नभई इटहरी, तरहरा, धरान, पथरी, सुन्दरहरैँचा, उर्लाबारीलगायत क्षेत्रका बासिन्दा दैनिक उपभोग्य सामग्री खरिदका लागि जोगवनी पुग्ने गरेका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!