
पन्जाब । आजभोलि इन्स्टाग्राममा रिल बनाउनु युवापुस्ताका लागि सोख मात्र नभएर एउटा यस्तो ‘नशा’ बनेको छ, जसका लागि मानिसहरू जुनसुकै हद पार गर्न तयार हुन्छन् । भ्युज र लाइकको दौडमा कहिलेकाहीँ यस्तो दुर्घटना हुन्छ, जसले जीवनभर पछुतो दिने गर्छ । भारतको पन्जाबमा हालै यस्तै एउटा ‘महँगो’ रिल काण्ड सार्वजनिक भएको छ ।
अप्रिल ११ मा महाराजा यादवेन्द्र सिंह स्टेडियममा सनराइजर्स हैदरावाद र पन्जाब किंग्सबिच रोमाञ्चक खेल भइरहेको थियो । तर दर्शकदीर्घामा रहेकी मधु प्रिया नामकी युवतीको ध्यान भने खेलमा भन्दा बढी इन्स्टाग्रामको चर्चित ‘रिङ ट्रेन्ड’ मा थियो । यो ट्रेन्डमा क्यामेरा अगाडि आफ्नो बहुमूल्य औँठीलाई हावामा उचालेर नाटकीय शैलीमा पुनः समात्नुपर्ने हुन्छ ।
स्टेडियमको खचाखच भिडमा मधुले रवाफका साथ आफ्नो ७० हजार भारु पर्ने औँठी हावामा त फालिन, तर दुर्भाग्य ! ग्र्याभिटीले उनको रिलको स्क्रिप्टलाई साथ दिएन । हावामा उडेको औँठी उनको हातमा आउनुको सट्टा सिधै तल खस्यो र हजारौँको भिडमा कतै बेपत्ता भयो ।
‘७० हजारको नोक्सान भयो, औँठी अहिलेसम्म भेटिएको छैन’, मधुले आफ्नो इन्स्टाग्राम भिडियोमा पीडा पोख्दै लेखेकी छिन । उनको यो ‘ट्रेजेडी’ इन्टरनेट प्रयोगकर्ताका लागि भने मनोरञ्जनको विषय बनेको छ । भिडियो भाइरल भएपछि मानिसहरूले निकै चटपटे प्रतिक्रिया दिइरहेका छन् ।
एक प्रयोगकर्ताले लेखेका छन्, ‘ढुक्क हुनुस् म्याडम, यही बहानामा अब कम्तीमा पूरा स्टेडियमको सरसफाइ त हुनेछ !’ यस्तै अर्का प्रयोगकर्ता थप्छन्, ‘अर्काे पटक औँठीमा धागो बाँधेर रिल बनाउनु होला, नत्र अर्को ७० हजार पनि जाला !’

संगालोखबर 




















