
जाडो याम छ !
बुढो करङमा
झुल्किने पारिलो घाम ताप्दै
समय रेखा यतिखेर
तमाशा हेरिरहेको छ
र नव आगन्तुक पाहुनालाई
निर्वाशित गरिसकेको हुनेछ
यो शून्य समय हो
तर सबै सुन्यतामा
बाचिरहेका हुन्छ्न भन्ने पनि होइन !
तिम्रो ज्यामिती खोइ ?
यो मानव कङ्कालमा कहाँ खोज्नु तिमीलाई
घर कहाँ छ
यो भग्नावशेषमा कसरी पहिचान गरौ !
तिम्रो जङ्गारमा
फूलेको हो सुनाखरि
बल्छि थापेर
निकालेकै हो संवेदनाको
महासागरबाट
फूलहरु पनि
विभाजित भएकै हुन
जब क्रान्तिलाई
परिभाषित गर्न थालियो
हुन सक्छ
तिमी बढिनै
क्रान्तिकारी थियौ
वा म तिम्रो
परिभाषा भित्र
समेटिन नसकेको हु !
इतिहासले पनि
दावी गरेन तिमीसँग
म सँगै
हिसाब मागिरहेछ
म पनि बेखबर
बाचेको होइन !
मैले
बेखबर बाच्नेहरुको खबर पनि
कहिल्यै सोधिन
साझा थियो गन्तव्य
हुनसक्छ
तिमी
सबैलाइ हसाउन
उत्साहित थियौ !
तिम्रा लागि
मनहरु नजिक थिए!
म सम्झन्छु
जिन्दगी तिमीलाई !!
तिमी तुइनमा झुन्डिदा
मैले
तानिरहेकै हुँ घिर्नी
बजारिन खोज्दा
विछ्याइएको हुँ
भुइमा सपनाको कोमल हृदय
मलाइ अफसोच छ
किन हामीले मानाएनौं जीवनको उत्सव
आत्मघाती भएन कहिल्यै आत्मा
तिमी मेरो मनको आवाजम
तिम्रो साहारा
सक्दिनँ दाबी गर्न
हरेक दिन
कहाँबाट बटुल्यौ प्रेरणाको स्रोत
निस्फिक्री बाडिरहेकै थियौं समर्पण
म
थोपा – थोपा मा
मात्र होइन
सुन्यता भित्र पनि
तिमिलाइ खोजिरहेको हुन्छु
जीवन आदर्श मात्र थिएन
तथापी मैले बाचेकै हुँ यथार्थको पिरामिड
म सम्झन्छु हरेक पल
के तिमीले मलाइ सम्झिएका छौ?
दिपक थापा
अरुण गाउँपालिका-७, भाेजपुर



















