
खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा हावाहुरीले ५२ वटा घरको छानो उडाएको छ । चैत २ गते साँझ आएको हावाहुरीले ५२ घरको छानोमा पूर्ण रुपमा क्षति पुर्याएको नगरपालिकाको तथ्यांक छ ।
नगरपालिकाले हावाहुरी पीडितहरुलाई राहत स्वरुप जस्तापाता वितरण गर्ने भएको छ । हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका १२, हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका ४, हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारका २८, लेसी तुवाचुङ नगरपालिका–८ धितुङका ३ र हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीका ५ घर परिवारलाई जस्ता प्रदान गरिने नगरपालिकाले जनाएको छ ।
हावाहुरीले छानो उडाइदिएपछि खुला आकासमुनि बस्न बाध्य पीडितलाई नगरपालिकाले तत्काल जस्ता उपलब्ध गराउने तयारी थालेको हो । विपद् व्यवस्थापन कोषबाट जस्ता खरिद गरेर पीडितलाई प्रदान गर्ने नगरको योजना छ । हाललाई नगरपालिकाले ३१ परिवारलाई त्रिपाल बाँडेको छ ।



















