काठमाण्डौ, २८ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा राष्ट्रियता र समृद्धि चाहने र खान मात्रै खोज्नेहरुका बीचमा ध्रुवीकरण भैरहेको बताए।

Advertisement

सोमबार राष्ट्रिय सभागृहमा आयोजित पार्टी समायोजन कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले देशमा दुई खाले ध्रवीकरण तीव्र रुपमा अगाडि बढेको बताए।

 उनले भने, ‘नेपालमा यतिबेला राष्ट्रियता र समृद्धि चहाने र खान मात्रै खोज्नेहरुका बीचमा एकता भैरहेको छ’, उनले भने, ‘राष्ट्रियता र समृद्धि चाहनेहरुको अगुवाइ एमालेले गरिरहेको छ।’

अध्यक्ष ओलीले निर्वाचन आचारसंहिता लागू भैसकेपछि सरकारको विस्तार हुनु गलत भएको बताए। उनले भने, ‘अरु देशमा चुनाव गराउन सानो मन्त्रीपरिषद बनाउछन्। चुनाव लड्नका लागि मन्त्री छाडेर जान्छन् । यहाँ चुनाव लड्न मन्त्री हुन्छन्।’

निर्वाचन आचारसंहिता लागु भएसँगै सरकार कामचलाउ भएको भन्दै ओलीले यस्तो बेला चुनावमा जान छाडेर सरकारमा जान खोज्नु गलत भएको बताए।

उनले अहिले सरकारमा जानेले तलब भक्ता खाने र गाडी चढने बाहेक अरु काम गर्न नसक्ने बताए। सरकार बिस्तारका लागि मन्त्रालय पनि बाँकी नरहेको अवस्थामा मन्त्रीपरिषद् बिस्तार गरिएको भन्दै उनले अहिले भएका ६४ जना मन्त्री नै बेकामे भएको आरोप लगाए।

‘एकथरी काम नगर्ने र खानेमात्र मौरी हुन्छन्, तीनलाई डाइना भन्छन्। यतिबेला सरकार बस्ने ठाउँ, सिंहदरबारमा ६४ जना डाइनाहरु छन्’, अध्यक्ष ओलीले भने, ‘ती ६४ जना बेकामे छन्। बेकामे मैले भनेको होइन तिनको जिम्मेवारी नै त्यसैगरी तोकिएको छ। तिनलाई बिनाविभागीय भनिएको छ, कुनै विभाग विनाका, कुनै जिम्मा विनाका।’

कांग्रेसप्रति आक्रमक रुपमा प्रस्तुत भएका ओलीले कांग्रेसलाई पुरानो र मक्किएको पार्टीको संज्ञा दिए। उनले जनताले परिवर्तन खोजेको र त्यो परिवर्तन कांग्रेसबाट सम्भव नभएको बताए। ‘अब धोद्रो भएको, पात झरेको, मक्किएको रुखमा तपाईंहरुको पसिना खर्च हुनुहुँदैन।’

अध्यक्ष ओलीले अहिले एमाले प्रवेशमा लहर चलेको भन्दै अब एमालेको नेतृत्वमा देश ध्रुवीकरण हुने दावी गरे।

बिनासर्त एमालेमा समायोजन भएका हौँः न्यौपाने

चुरेभावर राष्ट्रिय एकता पार्टीका अध्यक्ष बद्रिप्रसाद न्यौपानेले राष्ट्रियताका पक्षमा एमालेले लिएको अडानका कारण आफूहरु एमालेमा समाहित भएको बताए। उनले आफूहरु विनासर्त एमालेमा समाहित भएको जानकारी दिए।

अध्यक्ष न्यौपानेले भने, ‘आर्थिक विकासका लागि ओली सरकारले गरेका काम र देशको स्वाधीनताका पक्षमा उभिएका कारण हामी एमालेमा समायोजन भएका हौं।’-नेपालखबर

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!