काठमाडौं, २७ असोज । पूर्व प्रहरी महानिरीक्षक कुवेरसिंह रानाले प्रहरीको व्यवसायिक आचरण धर्मराएको भन्दै दुख व्यक्त गरेका छन्। उनले घुमारो पारामा राजनीतिले प्रहरीमा परम्परा र कानुनी व्यवस्था मिचेर हस्तक्षेप गरेको आरोप लगाए।

Advertisement

नेपाल प्रहरीको ६२ औं दिवसमा ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’बाट सम्मानित भएपछि मन्तव्य दिनेक्रममा सालिन रुपमा प्रस्तुत भएका रानाले प्रहरीका उच्च अधिकारी र राजनीति नेतृत्व दुवैको आलोचना गरेका हुन्।

‘प्रहरीले सुरुमा आफैसँग प्रतिस्पर्धा गर्नुपर्छ। त्यसपछि अरुसँग स्वास्थ्य व्यवसायिक प्रतिस्पर्धा गरेर आफूलाई अरुभन्दा अब्बल स्थापित गर्ने हो’, रानाले भने, ‘तर पछिल्लो समयमा यो मूल्य र मान्यता धर्मराएको पाएको छु। निकै दुख लागेको छ। प्रहरीले कुराले होइन व्यवहारमा स्वास्थ्य व्यवसायिक प्रतिस्पर्धा गर्नुपर्‍यो।’

रानाले त्यसपछि राजनीतिक नेतृत्वमाथि कटाक्ष गरे। ‘नेपाल प्रहरीको लामो इतिहास छ। यसमा लामो परम्परा र ऐन, कानुन जोडिएका छन्। यी परम्परा र ऐन कानुनलाई हेरेर प्रहरी प्रशासनको व्यवस्थापन गर्न राजनीतिक नेतृत्वलाई आग्रह गर्छु’, रानाले भने।

यसअघि लामो समय प्रहरीको नयाँ नेतृत्व चयनमा विवाद देखिएको थियो। सरकारले चौथो नम्बरमा नायब महानिरीक्षक (डीआईजी) जयबहादुर चन्दलाई आईजी नियुक्त गरेपछि पहिलो नम्बरका तत्कालीन डीआईजी नवराज सिलवाल सर्वोच्च अदालत पुगेका थिए।

सर्वोच्चले आफ्नो निर्णय खारेज गरेपछि सरकारले प्रकाश अर्याललाई आईजी नियुक्त गरेको थियो। तर, कार्यसम्पादन मूल्यांकनमा आफू पहिलो नम्बरमा रहेको र आफूलाई नै आईजी नियुक्ती गर्नुपर्ने माग राख्दै सिलवाल सर्वोच्च पुगेका थिए।

सर्वोच्चले त्यसको केही महिनापछि अर्थात् केही साताअघि मात्र अर्याललाई आईजी नियुक्त गर्ने सरकारको निर्णयलाई सदर गरेको थियो। चन्दलाई आईजी बनाउनु पर्नेमा कांग्रेस देखिएको थियो भने सिलवाललाई आईजी नबनाएकोमा एमालेले चर्को विरोध गरेको थियो।

एक महिनाअघि डीआईजीबाट राजीनामा दिएका सिलवाल एमाले प्रवेश गरी सकेका छन्। कार्यक्रममा बोल्दै आईजी अर्यालले प्रशासनिक समस्याको कानुनी उपचार खोज्दा समस्या आएको बताए।-अन्नपूर्णपोष्ट

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!