काठमाडौं,२६ असोज । एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्य, निष्ठा, देश र जनतालाई माया गर्ने नै वामपन्थी भएको बताएका छन् ।
आफूलाई केहि विद्धानले ओली वामपन्थी भएको भनि टिप्पणी गरेको प्रति असहमति जनाउँदै पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा बिहिबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘अहिले केहि विद्धानहरुले म बामपन्थी हुन सक्दिनँ भनेर भनिरहेका छन् सत्य, निष्ठा र देश र जनतालाई माया गर्ने बामपन्थी हो ।’
उनले देश र जनताको पक्षमा काम गर्ने आफू बामपन्थी नहुनु भनेको देश र जनतालाई माया नगर्नेहरुले फैलाएको हल्ला मात्रै भएको बताए ।
उनले बामपन्थ नरुचाउनेहरु समृद्धि, सुशासन र समानता विरोधि भएको आरोप लगाउँदै आफूहरुले यी सबै सवालको पक्षमा रहेको बताए ।
कतिपयले आफू कम्युनिष्ट नभएको समेत भन्ने गरेको प्रति लक्षित गर्दै उनले भने, ‘ जसले कम्युनिष्ट पढेको छ त्यसलाई थाहा हुन्छ । इन्जिनियरलाई आलु रोप्नेबारे थाहा हुँदैन किसान लाई थाहा हुन्छ ।’
उनले भारतप्रति संकेत गर्दै असल छिमेकी हुँ भन्नेले नेपालीलाई दुख नदिने तर्क गरे । ‘मुखले सुमधुर सम्बन्ध भन्ने हामीलाई दुःख दिने ? भूमि मिच्ने ? सुमधुर सम्बन्ध भन्नेले कहिले पनि दुख दिन हुन्न’, उनले भने ।
उनले नाकाबन्दी गराएर मधेसी जनतालाई भोकभोकै मार्नुपर्छ भन्नेचाहिँ मधेसवादी हुने र जनताको पक्षमा काम गर्ने एमालेलाई चाहिँ मधेस विरोधीको रुपमा चित्रित गरिएको भन्दै आक्रोश पोखे।
सो क्रममा सिंगो मधेस समता पार्टीलाई ओलीले एमालेमा स्वागत गरेका थिए । –रातोपाटी