
मानव सभ्यताको मूल आधार समाज हो भन्ने कथन केवल दार्शनिक भनाइ मात्र होइन, व्यवहारिक सत्य पनि हो। व्यक्तिको अस्तित्व, मूल्य र उपलब्धि समाजकै सुरक्षित संरचनामा निर्भर हुन्छ। यदि समाज असुरक्षित छ भने व्यक्तिगत मेहनत, प्रतिभा वा सम्पत्तिको मूल्य क्षणभरमै नष्ट हुन सक्दछ। यही कारण धर्मशास्त्रहरूले सत्कर्मलाई केवल व्यक्तिगत पूजा, दान वा तपस्यामा सीमित नगरी, सामूहिक कल्याणसँग जोडेर हेर्न सकिन्छ। आधुनिक युगमा सत्कर्मको वास्तविक अर्थ समाजलाई सुरक्षित राख्दै न्यायपूर्ण समाज बनाउने र नागरिकलाई समान अवसर दिने सामूहिक प्रयास नै सबैभन्दा ठूलो सत्कर्म हो।
व्यक्तिगत पुण्य वा तपस्या तब मात्र सार्थक हुन्छ, जब त्यसले समाजमा सकारात्मक प्रभाव पार्दछ। जस्तै, अति विपन्नलाई शिक्षा, स्वास्थ्य, आवास, रोजगारी दिलाउने, सरकारी एवं सार्वजनिक सम्पत्ति र नागरिकको सम्पत्ति जोगाउने वा असुरक्षित समुदायलाई सुरक्षाको अनुभूति प्रदान गर्ने। तर, हाम्रो जस्तो मुलुकमा सँधै सङ्क्रमणकालीन अवस्था, सुशासनको कमजोरी, सुरक्षा संयन्त्रमा आवश्यकीय प्रबन्धको कमीका कारण असक्षमता, अनावश्यक उत्तेजित समूह र नेतृत्वको गैर जवाफदेहीपनले नै सत्कर्मको वास्तविक सारलाई चुनौती दिइरहेको छ। अर्थात्, जबसम्म नेतृत्व पारदर्शी, उत्तरदायी र नागरिकमुखी हुँदैन, तबसम्म व्यक्तिगत सत्कर्म पनि दीर्घकालीन रूपमा समाजलाई सुरक्षित बनाउन सक्षम हुन सक्दैन।
पृष्ठभूमिः हाम्रो देशको महत्वपूर्ण परिवर्तन एवं राजनीतिक यात्राले सात दशक भित्रमा ठूलो उथलपुथलको अनुभव गरेको छ। जहानिया राणा शासन, निर्दलीय पञ्चायती शासनको पतनदेखि प्रजातान्त्रिक आन्दोलन, जनयुद्ध, मधेस आन्दोलन र गणतन्त्रको घोषणा हुँदै सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा धेरै परिवर्तन सम्भव भए। तर सामाजिक सुरक्षा, सुशासन र पारदर्शिताको सवाल भने अझै अधुरो रहेको छ। भ्रष्टाचार नियन्त्रणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तथ्याङ्क अनुसार हरेक वर्ष अरबौँ रुपैयाँ सार्वजनिक सम्पत्ति दुरुपयोग र अनियमिततामा खर्च भएको छ।
पछिल्ला वर्षहरूमा सार्वजनिक लेखापरीक्षण प्रतिवेदनले मात्रै अरबौँ रुपैयाँको अनियमितता देखाएको छ। यस्तो अनियमितता अन्ततः नागरिकले शिक्षा, स्वास्थ्य वा रोजगारीका अवसर गुमाएर उनीहरूकै काँधमा आई पर्दछ। सडक दुर्घटनामा वर्षेनी तीन हजार भन्दा बढी मानिसले ज्यान गुमाउँदै आएका छन्। स्वास्थ्य सेवा सर्वसुलभ नभएको र सरकारी कमजोरीका कारण ग्रामीण भेगमा हजारौँ नागरिक सामान्य उपचार नपाएर असामयिक मृत्यु भोगिरहेका छन्। यी सबै तथ्यहरूले के देखाउँछ भने समाज सुरक्षा केवल कानुनी कठोरता वा नीतिगत घोषणा मात्र होइन, सामूहिक चेतना र व्यवहारमै निहित छ।
समाज सुरक्षा र सामूहिक जिम्मेवारीः समाजलाई सुरक्षित राख्ने काम कुनै एक व्यक्तिको दायित्व मात्र होइन, यसमा नागरिक, समुदाय, राज्य र नेतृत्व सबैको समान भूमिका हुन्छ। व्यक्तिगत सतर्कता, कानुनको पालन, नैतिक आचरण र सामाजिक मूल्यप्रतिको प्रतिबद्धताले आन्तरिक सुरक्षा मजबुत हुन्छ र राज्यले पारदर्शी प्रशासन, प्रभावकारी नीति र जवाफदेही सहितको नेतृत्व दिनुपर्दछ। उदाहरणकालागि सडक सुरक्षामा पैदल यात्रीले नियम मान्नु, चालकले जिम्मेवार भएर गाडी चलाउनु र प्रहरी(प्रशासनले कडाइका साथ नियमन गर्नु, यी सबै पक्षको संयोजन बिना दुर्घटना घटाउन सकिँदैन। त्यस्तै, अपराध नियन्त्रण, वातावरणीय संरक्षण वा सार्वजनिक सम्पत्ति जोगाउने काम पनि सामूहिक सहभागिता बिना असम्भव हुन्छ। नागरिक सचेत नभए सरकारको प्रयास असफल हुन्छ, सरकार जवाफदेही नभए नागरिकको प्रयास अपूर्ण रहन्छ।
युवा पुस्ता र डिजिटल आन्दोलनः हालका वर्षहरूमा युवा पुस्ता, विशेषगरी जेन जि अर्थात् डिजिटल पुस्ता, समाज सुरक्षा र सुशासनका विषयमा अग्रपंक्तिमा देखिएका छन्। उनीहरूले सामाजिक सञ्जालमार्फत भ्रष्टाचारविरुद्ध आवाज उठाएका छन्, बेरोजगारी र मौलिक हकका सवालमा आन्दोलन चलाएका छन्। यो गतिविधि केवल असन्तुष्टि मात्र होइन, सुशासनप्रतिको सामूहिक आकांक्षा हो। उदाहरणका लागि, २०८२ भाद्र २३ गते देखिएको भ्रष्टाचारविरोधी अभियानले सामाजिक सञ्जालमार्फत मुलुकभरमा लाखौँ युवालाई एकसाथ उभ्यायो। सडकमा प्रदर्शनसँगै ट्विटर, फेसबुक र टिकटक जस्ता सामाजिक संजालमा चलेका अभियानहरूले शासनलाई जवाफदेही बनाउन बाध्य गर्यो। यसरी डिजिटल पुस्ताको सक्रियता आधुनिक सत्कर्मको रूप हो, जसले लोकतन्त्रलाई बलियो बनाउँन र समाजलाई सुरक्षित राख्न महत्त्वपूर्ण योगदान पुर्याइरहेको छ।
जेन जी आन्दोलनमा भएको व्यक्तिगत र सरकारी क्षतिः २०८२ भाद्र २३ गते शुरु भएको शान्तिपूर्ण आन्दोलनमा मुलुकको गरिमामय संसद भवनको आगजनी र क्रुर प्रहरी दमनले आकस्मिक रुपमा निहत्था युवा १९ जना राज्यद्वारा मारिए र भोलिपल्ट भएको आन्दोलनले राजधानी लगायत मुलुकभर महत्वपूर्ण सरकारी कार्यालय, व्यापारिक भवन र नागरिकका घर आतकंवादी शैलिमा आगजनीबाट भएको क्षतिले मुलुकलाई गम्भीर राजनीतिक, सामाजिक र आर्थिक संकटमा धकेल्यो। आन्दोलनको क्रममा ७४ जनाको दुखद् मृत्यु र दुई हजारभन्दा बढी घाइते भए, जसमा टाउको र छातीमा गोली प्रहार भएको मानवता विरोधि कुकर्म र अपराध पुष्टि भएको छ। संसद, महत्वपूर्ण सरकारी भवन र व्यवसायिकरव्यापारिक क्षेत्रमा तोडफोड तथा आगजनीहुँदा खरबौँको क्षति, सरकारी महत्वपूर्ण कागजातको नष्ट र पर्यटन तथा लगानी वातावरणमा ठूलो असर पर्यो।
व्यक्तिगत रूपमा सयौं परिवारले आश्रित, रोजगारी वा आम्दानी गुमाए। शान्तिपूर्ण आन्दोलन जनताको अधिकार र न्यायको पक्षमा गरिएको भए पनि त्यसको बहानामा राजनीतिक दलहरूको दबाबमा अपराधमा सजाय भोगिरहेका कैदीहरूलाई रिहा गर्नु अत्यन्त गलत कदम हो। यस्तो कार्यले कानूनी शासन, न्याय प्रणाली र सुशासनका आधारभूत मूल्यलाई कमजोर पारेको छ। अपराध र राजनीति अलग हुनुपर्नेमा राजनीतिक स्वार्थका लागि अपराधीलाई संरक्षण दिने प्रवृत्तिले देशमा दण्डहीनता र अविश्वास फैलाई रहेको छ। कानून सबैका लागि बराबर हुनुपर्छ, चाहे ऊ सामान्य नागरिक होस् वा नेता र नेतासँग निकट व्यक्ति, तबमात्र सुशासन र स्थिरताको मार्ग प्रशस्त हुन्छ।
आन्दोलनको मूल कारण सरकारको सामाजिक सञ्जाल प्रतिबन्ध र लामो समयदेखि सञ्चालित भ्रष्टाचार तथा नातावादविरुद्धको आक्रोश थियो। तर यसलाई राजनीतिक स्वार्थ र आपराधिक समूहहरूले हाइज्याक गर्दा हिंसात्मक स्वरूप वदलियो र अभिव्यक्ति स्वतन्त्रता तथा सुशासनको प्रमुख मुद्दा कमजोर बन्यो। सुरक्षा संयन्त्र समयमै सक्रिय हुन नसक्दा, अस्पष्ट कमाण्ड र अपर्याप्त भीड व्यवस्थापनका कारण ठूलो क्षति भयो। घुसपैठबारे सप्रमाण उठेका प्रश्न अझै निष्पक्ष छानबिनको पर्खाइमा छन्।
नेतृत्वको बोली, वचन र व्यवहारः सार्वजनिक सम्पत्ति र नागरिक सुरक्षाको सुनिश्चितता नेतृत्वको बोली(वचन र व्यवहारसँग प्रत्यक्ष जोडिएको छ। नेताले पारदर्शिता, जवाफदेहिता र इमानदारीका कुरा बोलेर मात्र पुग्दैनस व्यवहारमा त्यसलाई प्रमाणित गर्नुपर्दछ। तर हाम्रो देशमा प्रायः उल्टो देखिन्छ। विकासका लागि तोकिएको बजेट व्यक्तिगत स्वार्थमा दुरुपयोग हुँदा विद्यालय, अस्पताल वा सडकजस्ता आधारभूत संरचना अधुरो रहन्छ। केही नेताहरूले आन्दोलनलाई उकास्ने उत्तेजक बोली प्रयोग गर्दा युवापुस्ता वा सर्वसाधारणले सार्वजनिक सम्पत्ति तोडफोड गर्न सामान्य ठान्छन्। सवारी साधन जलाउने, सरकारी भवनमा आगजनी गर्ने, विद्युत् लाइन र सिसिटिभी बिगार्ने कार्यले अन्ततः नागरिककै सुरक्षा र सेवामा क्षति पुर्याउँछन्। त्यसैले नेतृत्वको बोली र व्यवहारले जनमानसलाई सकारात्मक वा नकारात्मक दिशामा प्रेरित गर्ने ठूलो शक्ति राख्दछ।
चुनौती र अवसरः हामीले सामना गरिरहेको ठूलो चुनौती भनेको सुशासन र पारदर्शिताको कमजोर आधार हो। भ्रष्टाचार, पक्षपात, नीतिगत अस्थिरता र प्रभावशालीहरूको दण्डहीनताले समाज सुरक्षामा आघात पुर्याइरहेका छन्। तर अर्कोतर्फ, नागरिक समाज, सञ्चार माध्यम र डिजिटल पुस्ताको सक्रियता अवसरका रूपमा पनि देखिन्छ। यदि नागरिक जागरणलाई संस्थागत गरियो र नेतृत्वले सकारात्मक बोली(व्यवहारमार्फत विश्वास निर्माण गर्यो भने नेपालमा सुशासन केवल अव नारामा मात्र सीमित हुनेछैन।
निष्कर्षः जेन जी आन्दोलनले देखाएको वास्तविकता भनेको नागरिक अधिकार, सुशासन र राजनीतिक जवाफदेहीबीच सन्तुलन नहुँदासम्म समाज असुरक्षित रहन्छ र क्षति दोहोरिन सक्दछ। त्यसैले मृतक परिवारलाई क्षतिपूर्ति, घाइतेको उपचार, क्षतिग्रस्त संरचना पुनर्निर्माण, साथै निष्पक्ष छानबिन, डिजिटल अधिकार नीतिको पुनर्विचार, भीड व्यवस्थापन सुधार र पारदर्शी नेतृत्व सुनिश्चित गर्न जरुरी छ। तसर्थ सबैभन्दा ठूलो सत्कर्म भनेको समाजलाई सुरक्षित राख्ने सबैको साझा जिम्मेवारी हो। सुरक्षित समाज बिना व्यक्तिगत स्वतन्त्रता, शान्ति र समृद्धि सम्भव छैन।
त्यसैले नागरिकको सचेतना, सामूहिक सहयोग, पारदर्शी नेतृत्व र सुशासनको संयुक्त अभ्यासले मात्र दीगो सुरक्षा सुनिश्चित गर्न सक्दछ। सार्वजनिक सम्पत्ति जोगाउनु, अनुशासित बोली प्रयोग गर्नु, भ्रष्टाचारविरुद्ध खडा हुनु र नागरिक सुरक्षालाई सर्वोपरि मान्नु यी नै आधुनिक सत्कर्मका आधारस्तम्भ हुन्। आजको समाज र राष्ट्रलाई हरेक नागरिकको यही सत्कर्मको अभ्यास आवश्यक छ, जसबाट मात्र दीगो शान्ति, स्थायित्व र समृद्ध भविष्यतर्फ अघि बढ्न सकिन्छ।















