२१ औँ शताब्दी सूचना प्रविधिको युग हो । विज्ञान र प्रविधिमा आएको तीव्र परिवर्तनले मानव जीवनको हरेक पाटोमा आमूल परिवर्तन ल्याएको छ । आजको दिनमा संसारको कुनै पनि कुनामा बसेर सूचना आदान-प्रदान गर्न, शिक्षा लिन, व्यापार गर्न, सरकारसँग सेवा लिन वा मनोरञ्जन प्राप्त गर्न डिजिटल प्रविधिको प्रयोग अनिवार्य जस्तै भएको छ ।

यस सन्दर्भमा, डिजिटल साक्षरता अर्थात कम्प्युटर, मोबाइल, इन्टरनेट तथा अन्य प्रविधिको सही प्रयोग गर्न सक्ने ज्ञान र सीप अब कुनै विकल्प होइन, जिन्दगीको आवश्यक योग्यता बनेको छ । डिजिटल प्रविधि जीवनको सबै क्षेत्रसँग जोडिइसकेको छ । शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, प्रशासन, सामाजिक जीवन, सन्चार, वित्तीय कारोबार आदि क्षेत्रसँग जीवन चलाउने हो भने अब डिजिटल रूपमा साक्षर बन्नैपर्छ ।

Advertisement

डिजिटल साक्षरता भन्नाले के बुझिन्छ?
डिजिटल साक्षरता भनेको केवल मोबाइल चलाउन जान्ने वा फेसबुक हेर्न सक्ने कुरा मात्र होइन । यसको अर्थ डिजिटल प्रविधिको सुरक्षित, नैतिक, प्रभावकारी र उत्पादक प्रयोग गर्न सक्ने क्षमता विकास गर्नु हो । कम्प्युटर वा मोबाइलमा काम गर्न जान्नु, इन्टरनेट प्रयोग गर्न सक्ने (ब्राउजिङ, इमेल, एपहरू), अनलाइन फारम भर्न सक्ने, डिजिटल भुक्तानी गर्न सक्ने, साइबर सुरक्षा बुझ्न सक्ने, सामाजिक सञ्जालको सही प्रयोग गर्न सक्ने र सूचना छान्ने, विश्लेषण गर्ने क्षमता राख्ने लगायत पर्दछन् ।

डिजिटल साक्षरता किन आवश्यक छ ?

१. शिक्षा क्षेत्रमा परिवर्तन
कोरोना महामारीपछि संसारभर शिक्षा क्षेत्रमा ठूलो रूपान्तरण आयो । अनलाइन शिक्षा, डिजिटल कक्षा, Zoom, Google Meet, LMS, YouTube यी सबै डिजिटल प्लेटफर्महरू भए । अब विद्यार्थी र शिक्षक दुवैलाई डिजिटल साक्षर बनाउन अत्यावश्यकता छ । विद्यार्थीले पढाइ, गृहकार्य, परियोजना आदि गर्न डिजिटल उपकरण प्रयोग गर्न जान्नुपर्छ । शिक्षकहरूले शिक्षण सामग्री तयार गर्न, पठनपाठन प्रस्तुत गर्न र मूल्याङ्कन गर्न प्रविधिको प्रयोग गर्न जान्नुपर्छ ।

२. आर्थिक आत्मनिर्भरताको मार्ग
आजको डिजिटल युगमा घरमै बसेर कमाइ गर्न सकिन्छ । तर त्यसका लागि डिजिटल साक्षरता आवश्यक छ । Freelancing, Online Business, Graphics Design, Data Entry, Video Editing, Blogging, Affiliate Marketing जस्ता क्षेत्रहरू युवाहरूका लागि रोजगारीको मौका हुन् । यी सबै सीप डिजिटल ज्ञान बिना सम्भव छैन ।

३. सामाजिक सेवामा पहुँच
सरकारी सेवा, बैङ्किङ सेवा, बीमा, नागरिकता, कर तिर्ने, लोकसेवा फारम भर्ने, स्वास्थ्य बीमा यी सबै सेवा अहिले अनलाइन भइसकेका छन् । यी सेवा सहज रूपमा उपयोग गर्न डिजिटल साक्षरता अपरिहार्य छ । यदि कसैले डिजिटल प्रयोग गर्न सक्दैन भने ऊ सेवा र जानकारीबाट पछि पर्छ, जसले सामाजिक असमानता झनै बढाउँछ ।

४. गरिबी घटाउने उपाय
डिजिटल साक्षरता गरिबी हटाउने उपाय पनि हो । जब गाउँका किसानले अनलाइनबाट मल, बीउ, मौसमको जानकारी लिन थाल्छन्, बजार मूल्य हेर्न सक्छन्, तब उनीहरूको उत्पादन र आम्दानी बढ्छ । महिलाहरूले घरमै बसेर अनलाइन तालिम लिई साना उद्यम सुरु गर्न सक्छन् । यसले परिवार र समाजको आर्थिक अवस्था सुधार हुन्छ ।

५. सूचना र सञ्चारमा पारदर्शिता
डिजिटल प्रविधिले समाजमा पारदर्शिता र उत्तरदायित्व ल्याउन सक्छ । सरकारका कामकाज अनलाइन हुँदा जनता सजिलै निगरानी गर्न सक्छन् । पत्रकारिता, रिपोर्टिङ, जनचेतना फैलाउने कार्यमा डिजिटल माध्यमको ठूलो भूमिका छ । डिजिटल साक्षर नागरिकले गलत सूचना, अफवाह वा साइबर अपराधसँग सजग भएर समाजको रक्षा गर्न सक्छ ।

नेपालमा डिजिटल साक्षरताको अवस्था
नेपालमा डिजिटल साक्षरताको दर अझै कम छ, विशेष गरी ग्रामीण क्षेत्रमा । धेरै जना युवाले मोबाइल त चलाउँछन्, तर त्यसको उत्पादक प्रयोग (शिक्षा, सीप, रोजगारी) गर्न सक्दैनन् । वृद्ध, महिला, अशिक्षित वर्ग र गरिब समुदाय अझै डिजिटल प्रविधिबाट टाढा छन् । प्रविधिको पहुँच अभाव, इन्टरनेट सेवा महँगो र कमजोर, डिजिटल तालिमको कमी, भाषाको समस्या (अंग्रेजी), साइबर अपराधको डर आदि मुख्य चुनौतीहरू छन् ।

समाधानका उपायहरू :
विद्यालयमा डिजिटल शिक्षा अनिवार्य बनाउने, शिक्षकलाई कम्प्युटर र डिजिटल तालिम दिने, सामुदायिक सूचना केन्द्रहरू स्थापना गर्ने, स्थानीय सरकारमार्फत डिजिटल साक्षरता कार्यक्रम चलाउने, महिलाहरू, किसान, दलित र पिछडिएको वर्गलाई लक्षित तालिमहरू दिने, मोबाइलमैत्री एप र नेपाली भाषामा डिजिटल सामग्री बनाउने र इन्टरनेट सेवा ग्रामीण क्षेत्रमा विस्तार गर्न आवश्यक छ ।

निष्कर्ष :
डिजिटल साक्षरता अब विलासिता होइन, जीवन चलाउने आधारभूत सीप हो । शिक्षा लिन, काम पाउन, सेवा प्राप्त गर्न, सुरक्षित रहन, समाजसँग जोडिन र आफ्नो अधिकार प्रयोग गर्न डिजिटल सीप आवश्यक छ ।

यदि हामी आज नागरिकलाई डिजिटल साक्षर बनाउँछौं भने भोलिका दिनमा हामीले सक्षम, आत्मनिर्भर र समावेशी समाज निर्माण गर्नेछौं । त्यसैले आजैदेखि विद्यालय, गाउँपालिका, शिक्षक, विद्यार्थी, सरकार र समुदाय सबैले मिलेर डिजिटल साक्षरता फैलाउने अभियानमा जुट्नुपर्छ । अन्ततः भन्नुपर्दा- ‘जो डिजिटल साक्षर छ, ऊ नै अबको युगको असली नागरिक हो ।’

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!