
विराटनगर । कोशीसहित देशका विभिन्न ठाउँमा गएराति पानी परेको छ । संखुवासभा र ताप्लेजुङमा ठूलो वर्षा मापन भएको छ । पछिल्लो ६ घण्टामा इलामको कन्याम र सप्तरीको कल्याणपुरमा पनि ठूलो वर्षा भएको छ ।
त्यस्तै मकवानपुरको लाल बकैया नदी, जुरेली बजार जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ । सिन्धुपाल्चोकको गुम्थाङ, बाह्रबिसे, दोलखाको जिरी, बुस्टी, सिंगटी, सोलुखुम्बुको सल्लेरी, पेकारनस र आसपासका वर्षामापन केन्द्रहरूमा मध्यम बर्षा मापन भएको छ ।
यी क्षेत्रमा थप पानी पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । त्यस्तै धनकुटाको मछुवाघाट, त्रिवेणी र आसपासका केन्द्रहरूमा हल्कादेखि मध्यम वर्षा भएको छ ।
मकवानपुरको भोर्लेनी, उदयपुरको कटारी, उदयपुरगढी, मुर्कुची बजार, खोटाङको ऐँसेलुखर्क, सप्तरीको रुपनी बजार र आसपासका क्षेत्रमा पनि हल्कादेखि मध्यम वर्षामापन भएको छ । बैतडीको दैनसिली वर्षामापन केन्द्रमा मध्यम वर्षा मापन भएको छ ।















