सिन्धुपाल्चोक, २ असोज । जिल्लाको मेलम्ची नगरपालिका–१३ छापभञ्ज्याङबाट मानव बेचबिखनमा संलग्न एक जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
आफ्नै नाताभित्रकोे एक महिलालाई बेचेको अभियोगमा मानव बेचबिखन तथा ओसारपसार मुद्दा चलाइएका छापभञ्ज्याङका २६ वर्षीय सुवास सार्की २०६९ चैत २८ गतेदेखि फरार थिए ।
विशेष सूचनाका आधारमा प्रहरीले अभियुक्त सार्कीलाई घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक नवराज ढुंगानाले बताए । उनलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत चौतारा बुझाइने छ ।
मानव बेचबिखनमा निज अभियुक्तका बाबुछोरा नै संलग्न थिए । अहिले अभियुक्तका बाबु रामचन्द्र सार्की सुन्दरा कारागारमा जेलजीवन काटिरहेका छन् ।