ताप्लेजुङ । ताप्लेजुङमा झिँगटीले छाएका घर लोप हुन थालेका छन् । कालिगड अभाव र गाउँघर सम्मै विकासले फड्को मार्दा यस्ता घरहरू लोप हुँदै गएका हुन् ।
स्थानीय कला र वास्तुकलालाई समेटेर निर्माण गरिएका यस्ता घर आजभोलि देखिन छाडेका छन् । सिदिङ्वा गाउँपालिका-४ साब्लाखुका जुमप्रकाश गौतम उमेरले ९० वर्ष पुगे ।
उनले झिँगटी बनाउने र घरमा छानो लगाउने काम गरे । उनीसँगै काम गर्ने साथीहरूको निधन भइसक्यो । यसरी गाउँमा झिँगटीको छाना लगाउनेमा अहिले उनी मात्रै जीवित छन् । तर अरुकै सहारामा बाँच्नु परेको छ । गाउँमा उनले बनाएका झिँगटीको घर चुन थालेका छन् । धेरैले त भत्काएर अर्को नयाँ घर बनाएका छन् ।
सोही गाउँका मदन बरालको बुबाले २००४ सालमा झिँगटीको छानो भएको घर निर्माण गरेका थिए । लामो समयपछि छानोबाट पानी चुन थाल्यो । घरमा प्रयोग भएका काठ मक्किएर काम नलाग्ने हुन थाले । तर मदनलाई बुबाले बनाएको घर भत्काउन मन लागेन । संरक्षण गर्न झिँगटीको छानोमाथि त्रिपाल लगाए । उनले झिँगटीको छाना लगाउने कालिगड खोजी गरे । कतै नभेटेपछि अन्तिममा घर भत्काउनु परेको उनले सुनाए ।
बि.स. २००३ अगाडि ताप्लेजुङमा प्रायः झिँगटीले छाएको घर हुन्थे । बरालका अनुसार मल्लकालीन शैलीमा बनेका यस्ता घरका बुट्टेदार झ्याल-ढोकाले ऐतिहासिकता झल्काउँथ्यो । सिकर्मीको अभाव, नयाँ पुस्तामा सीप हस्तान्तरण नहुनु र विकासे परियोजनाले यस्ता कलालाई सङ्कटमा पार्दै लगेको उनको बुझाइ छ ।
सिदिङ्वा गाउँपालिका-४ का दिलकुमार ताम्लिङ काठमाडौं बसाइ सरे । तर उनका पुर्खाले करिब ८१ वर्ष पहिले बनाएको झिँगटीको घर भने केशव पन्दाकले रेखदेख गर्दै आएका छन् । अहिले यस गाउँमा झिँगटीको घर भनेकै उनकै घरमात्र बाँकी छ ।
आठराई त्रिवेणी गाउँपालिकाका विभिन्न ठाउँमा झिँगटीको छाना र मल्लकालीन शैलीका कलात्मक झिँगटी घर प्रशस्त देख्न पाइन्थ्यो । त्यस समयका घरका झ्याल, ढोका लगायतमा कुँदिएका कलाले नेपालको प्राचीन वास्तुकलाको झल्को दिन्थ्यो ।
बदलिँदो समयका कारण झिँगटीको छाना हटाएर अन्य संरचना प्रयोग गर्न थालेको आठराई त्रिवेणी गाउँपालिका-५ का लक्षुमन राईले बताए । उनका अनुसार पछिल्लो समयमा गाउँमा झिँगटी छानाका ठाउँमा आरसीसी ढलान र कर्कटपाताले ठाउँ लिँदै गएको छ ।