काठमाडौं, १ अशोज । राष्ट्रिय जनमोर्चाले निर्वाचन आयोगले जारी गरेको आचारसंहिता विपरित प्रधानमन्त्रीले नै विभिन्न गतिविधि सञ्चालन गरेपनि आयोगले कुनै कारवाही नगरेको भन्दै आपत्ति जनाएको छ ।

Advertisement

जनमोर्चाले आइतबार एक विज्ञप्ति जारी गर्दै आचारसंहिता उलङ्घन गर्ने प्रधानमन्त्रीलाई कारवाही नगरेर निरीहता प्रकट गर्नुका साथै आयोगको आचारसंहिता कागजी मात्र बनेको प्रष्ट भएको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ ‘यो साह्रै नै लज्जाको विषय हो कि नेपालको वर्तमान सरकारले निर्वाचनको मिति घोषणा गरिसकेपछि आचारसंहिता उलङ्घन हुने गरी अनेक निर्णयहरु गर्दै गइरहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको ‘मैले मन्त्रीपरिषदको विस्तार अझै गर्ने छु’ भन्ने भनाइबाट आचारसंहिताप्रति कुनै सम्वेदनशीलता नभएको प्रष्ट हुन्छ ।’

जनमोर्चाले मिति नै घोषणा भइसकेको संसदीय र प्रादेशिक चुनावको मुखमा मन्त्रीपरिषदको विस्तार गर्नु, न्यायधिशहरुको नियुक्ति गर्नु, कतिपय मुख्य न्यायधिशहरुलाई सर्वोच्च अदालतको न्यायधिशमा पदोन्नतिको लागि सिफारिश गर्नु, मन्त्री परिषदको वैठकले सांसद विकास कोषको रकम सांसदहरुलाई उपलब्ध गराउनु आचारसंहिताको ठाडो उलङ्घन भनेको छ ।

त्यसैगरी प्रदेश नं २ मा वर्तमान सरकारमा सामेल पक्षहरुका नेता–कार्यकर्ताद्धारा आचारसंहिताको व्यापक रुपले उलङ्घन भइरहेको कुरा पनि यसैको सिलसिला भएको जनमोर्चाले जनाएको छ ।

जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जारी गरेका विज्ञप्तिमा सरकारले पूर्व सांसदहरुलाई पेन्सन दिलाउन गरेको प्रयासको पनि विरोध जनाएको छ । -रातोपाटी

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!