धनकुटा । पूर्वमन्त्री एवं प्रतिनिधि सभा सदस्य राजेन्द्र कुमार राईले सहकारी क्षेत्रको समस्या समाधान गर्न सरकार लागि परिरहेको बताएका छन् । राष्ट्रिय सहकारी बैंक धनकुटाले आयोजना गरेको क्षमता अभिवृद्धि तालिम उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री राईले यस्तो बताएका हुन ।
बचतकर्ताहरूले सहकारीमा बचत गरेको रकम डुब्नु नहुनेमा उनले जोड दिए । दुख गरेर जम्मा गरेको रकम अपचलन हुनु गम्भीर विषय भएको भन्दै उनले त्यस्तो काम गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताए ।
सरकार यो विषयमा गम्भीर रहेको भन्दै उनले यो समस्या विस्तारै समाधान हने विश्वास व्यक्त गरे । उनले सहकारी संस्थाहरूले यो विषयलाई गम्भीरतापूर्वक लिएर बचतकर्ताहरूको रकम सुरक्षित गर्नुपर्ने धारणा राखे ।
जिल्ला सहकारी संघ धनकुटाका अध्यक्ष खगेन्द्र सुवेदीको अध्यक्षतामा भएको तालिममा धनकुटासहित तेह्रथुम, सङ्खुवासभा र भोजपुरका करिब ४० जना सहभागि भएका छन् । अध्यक्ष र व्यवस्थापन प्रमुखको क्षमता अभिवृद्धिका लागि तालिम आयोजना गरिएको राष्ट्रिय सहकारी बैंकका प्रमुख सुमनकुमार श्रेष्ठले जानकारी दिए ।