सप्तरी, ३० भदौ। जिल्लाको राजविराज–१ मा उम्मेदवारको घरमा चोरी भएको छ ।
स्थानीय तह निर्वाचनका उम्मेदवार आनन्द झाको घरमा चोरी भएको हो । उनी राजविराज नगरपालिका–१ मा नेपाली कांग्रेसको तर्फबाट वडाध्यक्षका उम्मेदवार छन् ।
मंगलबार राति जितिया पर्वको अवसरमा घरका सबै सदस्य छिमेकमा भइरहेको नाच हेर्न गएको बेला मौका छोपेर चोरले घरको मुख्य द्वारमा लगाइएका तीनवटा ताला तोडेर चोरी गरेको पीडितले बताएका छन् ।
झाको घरबाट नगद रु एक लाख, १० तोला सुन, एक किलो चाँदी र एउटा एपल मोबाइललगायतका सरसमान चोरी भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यता चोरी गर्ने गिरोहको तीव्ररुपमा खोजी कार्य भइरहेको सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए । -रासस