विराटनगर । मोरङ, सुनसरी र उदयपुरबाट लागूऔषधसहित प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । उनीहरूको साथबाट विभिन्न नामका लागूऔषध बरामद गरिएको प्रहरीले जनाएको छ ।
सुनसरीको बराहक्षेत्र नगरपालिका–८ की २७ वर्षीया एलिसा महतो, मोरङको रतुवामाईका २० वर्षीय असिम माझी र मोरङको रङ्गेली घर भई हाल सुन्दरहरैँचा–९ बस्ने १९ वर्षीय अभिषेक दमाइ महतरा पक्राउ परेका हुन् ।
यसैगरी, सुन्दरहरैँचाकै १८ वर्षीय सुशान्त विश्वकर्मा, मोहम्मद असलम, २७ वर्षीय जगत श्रेष्ठ, २३ वर्षीय दिलिप खवास, उदयपुरको त्रियुगा नगरपालिका–१३ का २४ वर्षीय रमेश देउजा र ३४ वर्षीय पूर्णबहादुर परियारलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार पक्राउ परेकाहरुको साथबाट ट्रामाडोल २ हजार २४४ ट्याब्लेट, कोलिवान ४०० ट्याब्लेट, एन्टिकफ ४०९ ट्याब्लेट, स्पास्पेन ४१९ ट्याब्लेट र डाइजेपाम ९ एम्पुल, फेनारगन ९ एम्पुल लगायत लागूऔषध बरामद भएको छ ।