महोत्तरी। मधेश आन्दोलनका क्रममा गत वर्ष भदौ २३ र २५ गते आफ्ना छोरा र बाबु दुवै गुमाएका महोत्तरी, जलेश्वर नगरपालिका–८ का शहीद परिवारलाई राजपाले टिकट नदिँदा स्थानीय मतदाता दुःखी भएका छन्।

स्थानीय तहको तेस्रो चरणको चुनावमा राजपा जाने निश्चित भएकै दिनदेखि जलेश्वर– ८ का बाबु र छोरा गुमाएका विनय चौधरीलाई टिकट दिने निश्चित गरिसकेको राजपाले अन्तिम अवस्थामा आएर नदिएपछि मतदाता खुसी छैनन्।

Advertisement

सदरमुकाम जलेश्वरमा गत वर्ष भदौ २३ गते ट्युसन पढेर फर्किने क्रममा आफ्ना १६ वर्षीय छोरा रोहन र २५ गते जलेश्वर – ८ स्थित बजारमा तरकारी किन्न गएका बेला प्रहरीले गोली हान्दा बुबा ७० वर्षीय गणेशप्रसादको निधन भएको थियो।

विनयलाई जलेश्वरका सबै मतदाताले टिकट दिनुपर्ने माग गर्दै आएका थिए। उनले जलेश्वर नगरपालिकाको प्रमुखमा टिकट पाउनेमा सबै जना विश्वस्त थिए।

राजपाले विनयलाई नगरपालिकाका प्रमुखमा मात्र नभएर आफ्नै वडाको वडाध्यक्ष वा वडा सदस्य पदमा समेत उम्मेदवार बनाएको छैन। राजपाले विनयलाई उम्मेदवार नबनाएर शहीद परिवारको अपमान गरेको स्थानीय मतदाता मनोजकुमार ठाकुरको बुझाइ छ।

राजपा महोत्तरीका अध्यक्ष मण्डलका तमलोपा जिल्ला अध्यक्ष अभिराम शर्माले राजपाले नगरपालिकामा जितेपछि मनोनयन हुने पदमा उनलाई दिइने बताए।

राजपाले जलेश्वर नगरपालिका प्रमुख पदमा रामशंकर मिश्रलाई उम्मेदवार बनाएको छ। त्यस्तै एकै परिवारका हजुरबा र नाति शहीद भएका वडा नं ८ बाट शहीद परिवारको कुनै सदस्यलाई नभएर राजपा गठबन्धनमा रहेका सद्भावना पार्टीका नेता सुरेश सिंहका भाइ नरेशलाई उम्मेदवार बनाइएको छ।

राजपाले शहीद परिवारलाई टिकट नदिएर अन्याय गरेको आरोप लगाउँदै जलेश्वर नगरपालिकाका मतदाता मुसाफिर साहले पनि निराशा व्यक्त गरेका छन्। महोत्तरीमा गत वर्ष मधेश आन्दोलन चलेको बेला एक महिलासहित नौ जना शहीद भएका थिए। रासस

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!