कति सुन्दर छन् पहिरी लहरा
रह भूधर यी सजिए पहरा ।
मधु आँप लिची फल आरु फली
छ सुगन्ध मिठो तरुमाझ गली ।।१

जलपान गरी छ धरा रसिलो
बिउ धान भरी छ गरा हँसिलो ।
मनमोहक भो झरिलो प्रकृति
बनियो वसुधा अति दिव्य कृति ।।२

जलले स्थल यो परिपुष्ट गरी
पथ चुन्छ नयाँ अनुराग भरी।
जब छर्छ कयौँ कण मेघ घुमी
नभले धरणी तब छुन्छ झुमी ।।३

नव बीज मुठीभर लिन्छु छरी
सुन बन्दछ त्यो सब खेतभरि ।
छ हिलो थलमा अविराम प्रित
म किसान खुसी छु असारसित ।।४

जति दृष्टि दियो त्यति ठाँटहरू
प्रिय छन् हरिया वन फाँटहरू ।
रचियो रचना त यही गतिले
सकिएन पुरा महिमा यतिले ।।५

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!