Sangalo Khabar
मुकुन्द प्रयास, धनकुटा ।

किनारमा उभिएर
बगर नियालीरहेको एउटा अनुहारलाई
म प्रश्न गर्छु
हुनसक्छ
अलिकति खुसी
थोरै वेखुसी सहितको
सुस्केरा बगाउँदै
बाढीले थुपारिदिएको
बालुमा अनुमान नापीसकेपछि
जवाफ यस्तो छ
म यतिबेला लेउतीको बाढीलाई
इश्वर सम्झिरहेछु ।

आधा रातमा बगाउन सक्थ्यो
सपना देख्ने आँखा
बलुवा सोहोर्ने हात
र भोकाईरहने पेट
बग्न सक्थ्यो यी सवै लुकाउने घर जस्तै आकृति
तर जोगाएरै बग्यो भेल
अब बालुवा बेचेरै किन्नुछ
यहि बालुवा बोक्ने डोको
जीवन संगीको लाज
र किन्नुछ छोरीको सुदुर सपना ।

Advertisement

धेरै पटक बगाएको छ बाढीले
रहर लाग्दो बाली
चर्दै गरेको गोरु
दिउँसै बगे हाँसो बाँड्दै गरेका साँझहरु
किनारको कथा हो यो

कहिले लेख्दै गरेको गीत बग्छ
कहिले गाउदै गरेको जीवन बग्छ
छेउमै बसेर गनेको छु
धेरै बसन्तहरु
बगाएको छु भेल सँगै
आँखामा बस्न नमान्ने आँशुहरु
बाढी उर्लिन छाडेपछि
नियालीरहन्छु
माथी भेडेटारमा किनिएका चाउचाउका खोल
उखुडाँडा देखि चवाइएका
उखुका खोस्टाहरु ।

किनारमा उभिएर
बगर नियालीरहेको एउटा अनुहारलाई
म प्रश्न गर्छु
जवाफ नआउदै
हुँइकिएर गुड्दै जाने
सवारीको बतासले उडाउँछ
घाम र पानी छेकिरहने
अनुहार भन्दा माथी
झोक्राइरहेको घुर्मैलो टोपी ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement