विराटनगर । विराटनगर महानगरपालिका–७ सातघुम्तीस्थित कवाडी गोदाममा आज दिउँसो भएको आगलागीमा परी मृत्यु हुनेको संख्या दुई पुगेको छ । एक जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । चार जना घाइतेको उपचार भइरहेको छ ।
विराटनगर–७ का ३२ वर्षीय दीपक मण्डलको उपचारका क्रममा मृत्यु भएको हो । उनलाई गम्भीर घाइते अवस्थामा उद्धार गरेर उपचारका लागि न्युरो अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अर्का एक जनाको घटनास्थलमै जलेको अवस्थामा शव फेला परेको छ । शवको पहिचान हुन वाँकी छ ।
विराटनगर–६ की अन्दाजी ६० वर्षीया रीता सरदार, विराटनगर–६ की अन्दाजी ६५ वर्षीय सुशीला पासवान, मोरङको कटहरी गाउँपालिका–६ की अन्दाजी ३० वर्षीया पिंकी कामतको न्युरोमा र विराटनगर–६ का अन्दाजी ५८ वर्षीय किशोर कामतको कोसी अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार उपचाररतमध्ये रीता र सुशीलाको अवस्था गम्भीर छ । उनीहरुको शरीरको ७५ प्रतिशतजति भाग जलेको प्रहरीले जनाएको छ ।