विराटनगर । कोशी प्रदेश सरकारका कार्यालयमा कार्यरत कर्मचारीहरूलाई प्रतिदिन दुई सय खाजा भत्ता दिइने भएको छ । कोशी प्रदेश सरकारको आइतबार बसेको मन्त्रिपरिषद् बैठकले खाजा भत्ता वृद्धि गर्ने निर्णय गरेको हो ।
यसअघि कर्मचारीहरूलाई एक सयका दरले खाजा भत्ता दिइदै आएको थियो । अब, विद्युतीय हाजिरीका आधारमा उपस्थिति भएको दिन दैनिक दुई सयका दरले खाजा भत्ता दिने निर्णय भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार महेन्द्र विष्टले जानकारी दिए । यसअघि हिक्मतकुमार कार्की मुख्यमन्त्री एवं आर्थिक मामिला तथा योजनामन्त्री हुँदा उनले गरेको पहिलो बजेट वक्तव्यमा चालु आर्थिक वर्षदेखि प्रदेशमा कार्यरत कर्मचारीको खाजा भत्ता वृद्धि गर्ने उल्लेख थियो ।
अध्यादेशमार्फत ल्याएको उक्त बजेटको प्रतिस्थापन नआउँदा भदौ ११ गतेदेखि कोशी प्रदेश बजेट शून्यतामा गएको थियो । दोस्रो पटक मुख्यमन्त्री भएका कार्कीले बजेट शून्यता अन्त्यका लागि ल्याएको दोस्रो अध्यादेशमा समेत कर्मचारीहरूलाई खाजा भत्ताको व्यवस्थालाई निरन्तरता दिइएकाले मन्त्रिपरिषद्ले यस्तो निर्णय गरेको हो । प्रदेशमा कार्यरत कर्मचारीहरूलाई कामप्रति उत्प्रेरित र जवाफदेही बनाउन प्रोत्साहनस्वरुप खाजा भत्ता दिने निर्णय गरिएको बताइएको छ ।
प्रदेश सरकारका मन्त्रालय, आयोग र निकायहरूको आर्थिक वर्ष २०८०/८१ को अस्थायी सङ्गठन संरचनाका दरबन्दीहरू स्वीकृत गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ । त्यस्तै, सङ्घीय सरकारको बन मन्त्रालय अन्तर्गतका कोशी प्रदेशमा कार्यरत खरिदार सरहका ७४ जना फरेस्टरहरुलाई सङ्घीय सरकारले अनुमति दिएमा प्रदेशमा समायोजन गर्ने निर्णय पनि भएको छ ।