धनकुटा । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा आज साँझ धनकुटा बजारमा मसाल जुलुस प्रदर्शन गरिएको छ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघले मूल्यवृद्धिको विरोध गर्दै प्रदर्शन गरेको हो ।
हात-हातमा मसाल बोकेर बसपार्क नजिकबाट सुरु भएको जुलुस मदनचोक हुदै चुवाको बोट चोक पुगेको थियो । ‘पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर, नालायक गठबन्धन सरकार मुर्दावाद, मूल्यवृद्धि गर्न पाइदैन, विदेशी दलाल चाहिदैन’ लगायत नारा लगाउँदै उनीहरूले प्रदर्शन गरेका हुन् ।
सरकार विरोधी पम्प्लेट छातीमा टाँसेर उनीहरूले मसाल जुलुस प्रदर्शन गरेका थिए । प्रदर्शन पश्चात चुवाको बोट चोकमा कोणसभा गरियो । सभालाई सम्बोधन गर्दै राष्ट्रिय युवा संघका अध्यक्ष प्रविण पोख्रेलले मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेका छन् ।
मूल्यवृद्धि गरेर सरकारले जनताको ढाड सेक्ने काम गरेकाले त्यसको विरोधमा देशभर मसाल जुलुस प्रदर्शन गरिएको राष्ट्रिय युवा संघले जनाएको छ ।