धनकुटा । राष्ट्रिय जनमुक्ति पार्टी निकट लिम्बुवान राज्य परिषद्सहित बिभिन्न पार्टी र सङ्गठनले आव्हान गरेको बन्दका कारण आज बिहानैदेखि धनकुटाको जनजीवन प्रभावित भएको छ । हरेक वर्ष साउन २२ गतेलाई ‘कालो दिन’ मनाएर अरुण पूर्वका ९ जिल्लामा बन्द आव्हान गर्दै आएको परिषदलाई यस पटक अन्य पार्टी र सङ्गठनले पनि साथ दिएर बन्द आव्हान गरेका हुन् ।
बि.स. १८३१ साउन २२ गते पृथ्वीनारायण शाहले नेपाल एकीकरणको नाममा लिम्बुवान राज्य खोसेको भन्दै परिषद्ले हरेक वर्ष आजकै दिनलाई ‘कालो दिन’ को रुपमा बन्द आव्हान गर्दै आएको छ । अरुण पूर्वका नौ जिल्लालाई आत्मनिर्णयको अधिकारसहितको स्वयत्त लिम्बुवान राज्य घोषणा गरिनुपर्ने परिषद्को माग छ ।
यसपटक संघीय लिम्बुवान पार्टी नेपाल, संघीय खम्बुवान लोकतान्त्रिक पार्टी, लिम्बुवान राष्ट्रिय समिति, किराँत खम्बुवान राज्य परिषद, किराँत लिम्बुवान राज्य परिषद र लिम्बुवान राष्ट्रिय मोर्चाले पनि बन्दमा साथ दिएका हुन् । उनीहरूले धनकुटासहित मोरङ, सुनसरी, झापा, तेह्रथुम, सङ्खुवासभा, इलाम, पाँचथर र ताप्लेजुङमा एकदिने बन्द आव्हान गरेका हुन् ।
बन्दका कारण धनकुटामा लामो तथा छोटो दूरीका सवारी साधन सञ्चालन नभएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख यज्ञराज शर्माले जानकारी दिए । फाटफुट मात्रामा टेम्पु, मोटरसाइकल लगायत साना सवारी साधन भने सञ्चालन भइरहेका छन् । यता, बजार पसल, कलकारखाना, शिक्षण संस्था लगायतमा भने बन्दको प्रभाव देखिएको छैन ।