Rabin Katel

धनकुटा । धनकुटा नगरपालिका–९ खुरिलामा गाँजा बोकेको भारतीय नम्बर प्लेटको टाटासुमो गाडी दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । धनकुटाबाट धरानतर्फ जाँदै गरेको बीआर १० एच ४९१० नम्बरको भारतीय गाडी दुर्घटना भएको हो ।

Advertisement

दुर्घटनामा परी धनकुटा नगरपालिका–४ स्कुलडाँडाकी १९ वर्षीया प्रिस्किला तामाङ, मोरङको जहदा गाउँपालिका–३ का २३ वर्षीय अजय मलाहा र जहदा–४ का २४ वर्षीय सुरेश मुखिया घाइते भएको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी नरेन्द्र कुँवरले जानकारी दिए । गम्भीर घाइते तामाङलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।

बाँकी दुई जना सामान्य घाइते छन्, उनीहरूलाई जिल्ला अस्पतालमा सामान्य उपचार पश्चात प्रहरीले नियन्त्रणमा राखेको छ । आज बिहान करिब ६ बजे गाडी दुर्घटना भएको हो, दुर्घटना भएको करिब ८ घण्टापछि मात्र गाडीमा ठूलो परिमाणमा गाँजा रहेको खुलेको हो । प्रहरीका अनुसार दुर्घटना भएको गाडीबाट गाँजाको गन्ध आएपछि खानतलासी गर्ने क्रममा गाँजा फेला परेको हो ।

गाडीको हुटसहित बिभिन्न स्थानमा सहजै थाहा नपाउने गरी लुकाएर राखिएको अवस्थामा एक सय किलो भन्दा बढी गाँजा फेला परेको डीएसपी कुँवरले बताए । ‘गाडी दुर्घटना भएपछि घाइतेलाई उपचारका लागि पठाइयो, सुरुमा गाँजा भएको थाहै भएन,’ डीएसपी कुँवरले संगालोखबरसँग भने, ‘पछि गाँजाको सेन्ट आएपछि चेकजाँच गर्दा मात्र थाहा भयो, सजिलै थाहै नपाउने गरी लुकाइछिपाइ राखिएको अवस्थामा गाँजा भेटिएको छ ।’

दुर्घटनापछि गाडी चालक भारतीय नागरिक र गाडीमा सवार अर्का एक जना फरार छन् । गाँजा कहाँबाट ल्याइएको खुलेको छैन । दुर्घटनाको कारण पनि खुलेको छैन । गाँजा फेला परेपछि प्रहरीले यो विषयमा थप अनुसन्धान गर्दैछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement