ई.सं. २०२२ डिसेम्बर १८ नेपाल सम्बत ११४३ थिंलागा दशमी,नल नामक संवत्सर, सूर्य दक्षिणायन हेमन्त ऋतु,पुष कृष्ण दशमी, चन्द्रमा कन्या राशिमा हस्ता नक्षत्र, सौभाग्य योग, वणिज करण । नेपालमा सूर्र्याेदय बिहान ६ः४८ बजे, सूर्यास्त साँझ ५ः१२ बजे हुनेछ । आज जन्म लिने बच्चा कन्या राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घीउ खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ९ बजेर २४ मिनेट देखि १० बजेर ४२ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
बेकरिङ, क्याटरिङ, फास्टफुड, माटोको सामाग्री, औजार, भाँडाकुँडा आदिका व्यवसायी खुसी हुने दिन हो, तर सेवाग्राहीको विश्वास जित्न केही समय लाग्नसक्छ । घमण्ड र जिद्दीपना त्याग्नसकेमा तर्क र बहसमा विजय प्राप्त हुनेछ, खिसीट्युरी गर्नेसित सतर्क रहनुपर्छ, नत्र ठूलो कलहको वातावरण बन्नसक्छ । प्रतिस्पर्द्धा र परीक्षामा सफलता पाउने दिन हो, तर राम्रो रिजल्टको चाहना छ भने गोप्य ढंगले तैयारी गरेको राम्रो हुन्छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आत्मबल र सामर्थ्य प्रदर्शन गरी अरुलाई प्रभावित बनाउन सकिने छ, जसबाट महत्त्वपूणर् उपलब्धिको बाटो खुल्नेछ । यो तीव्र इच्छाशक्ति र आन्तरिक ऊर्जाले भरिपूणर् समय हो । चिताएको काम बनाउन बुद्धिकौशल अर्थात् ट्रिकको प्रयोग गर्नुपर्ने दिन हो । समस्यामूलक कुनै काम छन् भने सिनियर स्टाफको होइन, जुनियर साथीको सहयोग लिनुपर्छ । असन्तुष्टि र निराशाका बारेमा खुलेर छलफल गर्नुहोला, किनभने एकअर्काको मनोभाव बुझी काम गर्नसके सम्बन्ध सुदृढ बन्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
कानून र प्रावधानलाई कडाइका साथ पालना गर्नुपर्छ । आफ्ना अधीनस्थहरूलाई बढी विश्वास गर्नुहुँदैन, बरु सहकर्मीका माझमा सद्भाव र समझदारी कायम राख्ने प्रयास गर्नु होला । घरजग्गा, रियलस्टेट, सेयर कारोबार वा कुनै अचल सम्पत्तिको कारोबारमा लगानी गर्ने समय हो, साथै बन्दव्यापारको विकास र विस्तारमा पनि धनव्यय हुनेछ । घरपरिवारमा राम्रो देखिन्छ, विभिन्न कुराको लाभ पाउने समय हो, तर कुरा काट्ने र खिसीट्युरी गर्नेहरूको क्रियाकलाप देखेर खिन्न बन्न सक्नुहुन्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
दार्शनिकता र चिन्तन प्रति झुकाव बढ्नेछ, कुनै समसामयिक विषयका बारेमा गम्भीर भएर जानकारी बटुल्न सक्नुहुन्छ । बन्धुवान्धव र छरछिमेकका काममा सघाउनुपर्ने परिस्थिति छ, त्यस्तै खाँचो परेमा उनीहरूबाट सहयोग लिन पनि सकिने छ । आध्यात्मिक मनोभावको विकास हुनेछ, साथै मन्दिर वा स्मारकको भ्रमणबाट शान्तिको अनुभूति हुनेछ । सहकर्मीहरूको भावना बुझी काम गर्न सके पुरानो समस्या पनि हल गर्न सकिने छ । अल्छी गरेर बस्ने हुँदा व्यक्तित्वमा आँच आउने वा भविष्यमा धोका हुनसक्ने दिन छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
एक्लै हुनुहुन्छ भने अब निराश हुनुपर्दैन, आज त्यस्तो व्यक्तिसँग चिनजान हुनेछ, जसले तपाईंको मनभित्रको उजाड फूलबारीलाई रङ्गीन बनाउन सक्छ । आयको मार्ग सबल छ, तर बोली र व्यवहारमा निकै सतर्कता अपनाउने समय हो, कुरा काट्नेहरूले तपाईंको छिद्र खोतल्ने प्रयास गर्नेछन् । नाफाका दृष्टिले राम्रै समय देखिन्छ, तर वाचा पूरा गर्न नसक्नाले सेवाग्राहीको आलोचना खेप्नुपर्ने हुन्छ, बोली र व्यवहारमा नम्रता अपनाउनु होला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
मनमा शान्ति र मुहारमा कान्ति छाउने सन्तोषजनक समय छ । प्रियजनसँग भेटघाट हुनेछ अथवा आश मारेको वस्तु वा धन हात पार्न सकिने छ । आम्दानी बढ्नेछ । कुनै प्रशासनिक वा व्यवस्थापकीय कार्यका लागि अनुकूल समय छ । तामा र रातो चिजबीजमा फाइदा देखिन्छ । आत्मबल र जोसजाँगर बढ्नेछ, घरायसी काम समयमैं टुङ्ग्याएर भावना साटासाट गर्दै पतिपत्नी एकान्तमा रमाउने समय हो ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अवसर प्राप्तिका निमित्त दौडधूप र परिश्रम गर्नुपर्ने समय हो, तर आफ्ना भावनालाई नियन्त्रणमा राखी व्यवहार गर्नु समुचित हुन्छ, नत्र यसबाट अरुलाई मात्र होइन, आफू स्वयंलाई समेत हानी पुग्नसक्छ । सेवाग्राही वा सिनियरसँग कुनै पनि बहसमा नअलमलिनु होला, नत्र सामान्य मानेको कुराले नै पछि तनाव बढाउने खतरा देखिन्छ । कार्यक्षेत्रमा व्यस्त रहनाले आपसी समन्वय र भेटघाटको असहजता हुने तथा मन पिरोलिने दिन हो, अझ साँझपख मन हतास र भावुक बन्नसक्छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
थालेको काम बीचमा नै अवरुद्ध भएको छ भने फेरि पनि प्रयास गर्ने समय हो, खर्च बढे पनि विगतको लगानी हातलागी हुनेछ । पारिवारिक सुखमा अभिबृद्धि हुने तथा छोराछोरीबाट सन्तोष मिल्ने समय छ । ज्ञान वा अनुभवको प्रयोग गरी कुनै महत्त्वपूणर् विषयमा लाभ लिन सकिने छ । कमीकमजोरी र असफलताहरू पन्छाउँदै क्षमताअनुरूप परिश्रम गर्नुहोस्, लक्ष्यप्रति केन्द्रित भएर लागी परेमा ठूलो सफलता पाउने दिन हो ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
कामधन्दामा मज्जाले खट्नुपर्ने हुन्छ, जीवनसाथीले आफ्नो विवशता नबुझिदिंदा झन दिक्क लाग्नसक्छ, तर बृद्धबृद्धाको सद्भाव र सहानुभूति बटुल्न पाइने छ । कुनै नयाँ विषयवस्तु वा प्राविधिक ज्ञानले आकर्षण गरेको समय छ, परिश्रम गर्ने छात्रछात्राले उत्कृष्ट परिणाम प्राप्त गर्नेछन् । काम र कर्तव्यप्रति दिलचस्पी जाग्नेछ, नाम र व्यक्तित्वको सुगन्ध फैलने समय हो । व्यक्तित्व निर्माण वा प्रतिष्ठा बृद्धिको कुनै अवसर प्राप्त भएमा त्यसमा लागी पर्नु राम्रो हुन्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अचानक परिस्थिति फेरिएर इच्छाएको जिम्मेबारी प्राप्त हुनेछ । वैकल्पिक आम्दानीका निमित्त कुनै नयाँ कारोबारप्रति आकर्षण देखाएमा समेत लाभ पाउन सकिने छ । कार्यक्षेत्रको व्यस्तताले आपसी समन्वयमा कमी देखिने छ, भेट हुनसक्दैन भने कुराकानी गर्ने र पार्टनरलाई फकाउने प्रयास गर्नुहोला । बौद्धिक र ज्ञानमूलक विषयमा रुचि बढ्ने एवं शुभचिन्तकहरूको साथ पाइने राम्रो दिन छ, सुखद समाचार सुन्न पाउँदा दिन प्रेरणास्पद बन्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
जोखिम र झञ्झट मोल लिएर काम गर्ने समय छ । काम गर्दा आफ्नै उपस्थितिमा गर्नुहोला अथवा लेखापढी गर्दा कागजपत्र पढेरमात्र सहीछाप गर्नुहोला । पार्टनरसँग कुनै नौलो र रमणीय ठाउँको यात्रा गर्ने तिर्सना जाग्नसक्छ, तर परिबन्दमा खुम्चनु पर्दा मन निराश बन्ने समय हो । मन विचलित हुने र अत्यास लाग्ने समय हो । आफ्नै वा परिवारको कुनै स्वास्थ्यसम्बन्धी समस्याले खर्च बढाउन सक्छ । धार्मिक र रहस्यात्मक विषयमा रुचि जाग्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
रूपसौन्दर्य र गहनागुरियामा आकर्षण बढ्नेछ, सिर्जनात्मक काम गीतसङ्गीत, नृत्य,अभिनय वा कला र साहित्यका विषयमा रुचि जाग्ने समय हो । कला, साहित्य र अभिनयका क्षेत्रमा रुचि बढ्ने दिन हो, तथापि अहिले बाह्य विषयवस्तुमा भन्दा पनि निर्धारित पाठ्यक्रममा ध्यानकेन्द्रित गर्नुपर्ने समय हो । व्यक्तित्वमा निखार आउने छ, धेरैको मन लोभ्याउन सकिने र प्रेमिल भावना विकसित हुने दिन हो । तर आत्मकेन्द्रित भइदिनु र आफ्ना बारेमा मात्र सोच्नुले नजिकका आफन्तहरू टाढिने परिस्थिति बन्नसक्छ ।