- संगालोखबर सम्बाददाता

धनकुटा । चौबिसे गाउँपालिकाको ८ नं. वडा कार्यालयले वडावासीको सहजताका लागि वडाको सम्पर्क कार्यालय खोलेर सेवा प्रदान गर्न थालेको छ । अठारसय भन्ने स्थानमा वडाको सम्पर्क सेवा कार्यालय स्थापना गरेर त्यहीबाट वडाको सेवा प्रदान गर्न थालिएको हो ।

Advertisement

संविधानसभा सदस्य टीकाराम चेम्जोङ र गाउँपालिका अध्यक्ष राजकुमार चेम्जोङले संयुक्त रुपमा सेवा कार्यालय उद्घाटन गरेका छन् । सम्पर्क कार्यालय उद्घाटन गर्दै संविधानसभा सदस्य चेम्जोङले सम्पर्क सेवा कार्यालय खुलेपछि सो क्षेत्रका नागरिकलाई सजिलो भएको बताए ।

८ नं. वडा कार्यालय सोक्रोप्पामा छ । सो वडाको अठारसय, आमडाँडा, केराबारी लगायत स्थानबाट नागरिकहरूलाई वडा कार्यालयसम्म आउँन घण्टौँ हिँड्नुपर्ने बाध्यता भएपछि वडाले अठारसयमा सम्पर्क सेवा कार्यालय खोलेको हो ।

सेवा कार्यालय खुलेपछि घण्टौँ हिडेर वडा कार्यालय पुग्नुपर्ने बाध्यता अन्त्य भएको र सेवा लिन सजिलो भएको स्थानीय निर्मला सुवेदीले बताइन् । ‘कामका लागि वडा कार्यालय जानु पर्दा घन्टौँ हिडेर सोक्रोप्पा जानु पथ्र्यो । अब यहाँ सम्पर्क कार्यालय खुलेपछि निकै सजिलो भयो,’ सुवेदीले भनिन् ।

सम्पर्क कार्यालयबाट मंगलबार र बुधवार हप्ताको दुई दिन सेवा प्रदान गरिनेछ । वडाबाट हुने सम्पूर्ण काम सम्पर्क कार्यालयले गर्ने वडाध्यक्ष धनबहादुर लिम्बूले जानकारी दिए । वडा कार्यालयबाट नागरिकताको सिफारिस, जन्मदर्ता, विवाह दर्ता, बसाइँसराई, मृत्यु दर्ता लगायत काम हुने गर्छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!