- बिनोद बिष्ट/संगालोखबर

काठमाडौं । हास्यकलाकार दिपकप्रसाद आचार्य ‘काकु’ ले गायन कला भएका तर आर्थिक अभावले गीत रेकर्डिङ गराउँन नसकिरहेका धनकुटाका एक जनालाई सहयोग गर्ने घोषणा गरेका छन् । धनकुटा–काठमाडौं सांस्कृतिक समाजले काठमाडौंमा गरेको कार्यक्रममा कलाकार आचार्यले यस्तो घोषणा गरेका हुन् ।

गायन प्रतिभा भएर पनि आर्थिक अभावका कारण कलाकारिता क्षेत्रमा अघि बढ्न नसकिरहेका व्यक्तिको गीत रेकर्डिङ गराएर म्युजिक भिडियो पनि निर्माण गरिदिने कलाकार आचार्यले बताए । ‘म पनि धनकुटामा जन्मिएर संघर्ष गर्दै यो स्थानमा आइपुगेको छु, आफ्नो जिल्लाका प्रतिभालाई प्रोत्साहन गर्न चाहन्छु,’ कलाकार आचार्यले भने, ‘गायन कला भएर पनि पैसा नहुँदा गीत रेकर्ड गर्न नसकिरहेका एक जना प्रतिभालाई म सहयोग गर्छु, उहाँको गीत रेकर्डिङ गरेर म्युजिक भिडियो बनाइदिने जिम्मा म लिन्छु ।’

गीत रेकर्डिङ गराएर म्युजिक भिडियो निर्माण गर्दा करिब तीन लाख खर्च लाग्ने र सो खर्च आफूले बेहोरेर सहयोग गर्ने उनको भनाई छ । यो कामको समन्वयका लागि उनले धनकुटा–काठमाडौं सांस्कृतिक समाजलाई आग्रह गरेका छन् ।

धनकुटाको परेवादिनमा जन्मिएका कलाकार आचार्य अहिले काठमाडौं बस्दै आएका छन् । ‘सक्किगोनी’ हास्य टेलिसिरियलमा ‘काकु’ नामक पात्रको रुपमा अभिनय गर्दै आएका उनी लोकप्रिय हास्यकलाकारको रुपमा चिनिन्छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!