- संगालोखबर सम्बाददाता

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका–५ बिरेन्द्र चोकस्थित कन्चन मनी ट्रान्सफरमा डकैती गर्ने समुहका चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

डकैतीका मुख्य योजनाकार फुङलिङ–२ का २९ वर्षीय राजन पर्तेल, झापाको शिवसताक्षी–१ का २६ वर्षीय चुनबहादुर सुनार, झापाको अर्जुनधारा–१० का २५ वर्षीय मणिराज पर्तेल र ताप्लेजुङको सिदिङवा–५ का २७ वर्षीय गजेन्द्र लिम्बुलाई प्रहरीले पक्राउ गरेको हो ।

गत असोज १७ गते बिहान सो मनि ट्रान्सफरमा ४ जनाको समुह पेस्तोलसहित प्रवेश गरी मनी ट्रान्सफरका कर्मचारी आशामाया प्रधानलाई कुटपिट गरी सेफमा राखेको करिव ३४८ तोला सुनका गरगहना र नगद ११ लाख ६३ हजार लुटेर लगेको थियो । घटनापछि प्रहरीले लुटेराहरूको खोजीलाई तीव्रता दिएको थियो ।

खोजतलासका क्रममा प्रहरीले उनीहरूलाई पक्राउ गर्न सफल भएको हो । घटनामा संलग्न ३ जनाको साथबाट प्रहरीले १४३ तोला सुनका गरगहना, नगद ६ लाख १३ हजार र १ थान पेस्तोल बरामद गरेको छ । गजेन्द्रलाई भने सोमबार बेलुका पाँचथरको फालेलुङ–८ बाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका चारै जनाविरुद्ध ताप्लेजुङ जिल्ला अदालतमा डाँका मुद्दा दायर गरेर कारबाही प्रकृया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!