- संगालोखबर सम्बाददाता

इलाम । झापाको दमक नगरपालिका–३ बेलडाँगीका ४४ बर्षीय लालबहादुर गुरुङको हत्या आरोपमा प्रहरीले नौं जनालाई पक्राउ गरेको छ । इलामको चुलाचुली गाउँपालिका–५ पकुवामा बुधबार बेलुका करिब ५ बजे गुरुङमाथि आक्रमण भएको थियो । दमक र चुलाचुली जोड्ने रतुवा खोलाको झोलुङ्गे पुल नजिक युवाहरुले खुकुरी, ढुंगा प्रहार गर्दा शरिरका बिभिन्न भागमा चोट लागेर गम्भिर घाइते भएका गुरुङको विर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भयो ।

Advertisement

घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय इलामबाट गएको प्रहरी टोलीले घटनामा संलग्नहरुको खोजीलाई तीब्रता दिएको थियो । खोजी गर्ने क्रममा चुलाचुली–४ इलामका २५ बर्षीय नरेन्द्र दर्जी, २९ बर्षीय नरेशकुमार याखा, २१ बर्षीय अभिषेक केरुङ, २० बर्षीय सेसेयाङ याखा, ३३ बर्षीय चन्द्रकुमार यवा, ३५ बर्षीय डम्बर यवा, ३० बर्षीय नरेन्द्र तुम्रोक, २६ बर्षीय बिक्रम हिङमाङ र २९ बर्षीय पर्शु राईसहित ९ जनालाई विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले घटनामा प्रयोग गरेको खुकुरी पनि प्रहरीले बरामद गरेको छ । त्यस्तै, मृतकले प्रयोग गरेको को.१९ प ३७२५ नम्वरको मोटरसाईकल दुवै टायर काटेर फालिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा तीन दिन अघि मृतक गुरुङले घटनामा संलग्न टिका भनिने नरेन्द्र तुम्रोकको भाई सुजनलाई कुटपिट गरेको खुलेको छ ।

सोही घटनाको बदला लिन उनीहरुले योजनाबद्ध रुपमा गुरुङमाथि आक्रमण गरेको प्रहरीको अनुसन्धानले देखाएको छ । घटनामा अन्य व्यक्ति पनि संलग्न भएको ठहर गर्दै प्रहरीले उनीहरुको पनि खोजी गरिरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!