- संगालोखबर सम्वाददाता

मोरङ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले विहीबार मोरङको बेलबारी, सुन्दरहरैंचा नगरपालिका र कानेपोखरी गाउँपालिकाका तीन स्थानमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा ७ सयभन्दा बढी बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । नोबेल अस्पताल सञ्चालक डा.सुनिल शर्माले विपन्न बिरामीलाई लक्षित गर्दै बेलवारी नगरपालिका वडा नम्बर ३, कानेपोखरी गाउँपालिका वडा नम्बर ५ र सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १२ मा शिविर सञ्चालन गराएका हुन् ।

तीन वटा शिविरबाट ७२६ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको अस्पताल प्रबन्धक नारायण दाहालले जानकारी दिए । दाहालका अनुसार सुन्दरहरैंचा–१२ मा सञ्चालित शिविरमा ५७ जनाको इसीजी, ९७ जनाको रक्त परीक्षण, १०५ जनाको भिडियो एक्सरे र ११ जनाको दाँत उखेलिएको छ । नोबेलका छाती तथा फोक्सो रोग विशेषज्ञ प्रा.डा.रामहरी घिमिरे र स्त्रीरोग विशेषज्ञ प्रा.डा.शान्ति सुवेदीसहितको टोलीले शिविरमा ३४२ बिरामीको स्वास्थ्य परीक्षण गरेको छ ।

त्यस्तै, बेलबारी–३ मा पनि शिविर सञ्चालन गरिएको छ । नोबेलका मुटुरोग विशेषज्ञ डा.सुसान्त कटुवाल नेतृत्वको डाक्टरहरुको टोलीले १०९ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ । शिविरमा आएका ८७ जनाको मुटुको जाँच ईको गरिएको छ ।

यता, कानेपोखरी वडा नम्बर ५ मा सञ्चालित शिविरमा २७५ जना विरामीको स्वास्थ्य परीक्षण गरिएको छ । जसमध्ये ४२ जनाको इसीजी, ११३ जनाको रक्त परीक्षण र १०७ जनाको भिडियो एक्सरे गरिएको छ भने दाँतमा समस्या भएर आएका १७ जनाको दाँत फुकालिएको छ । शिविरमा नोबेलका स्त्री रोग विशेषज्ञ डा.तृप्ती यादव नेतृत्वको टोलीले विरामीको स्वास्थ्य परीक्षण गरेको हो ।

तीन वटै शिविरबाट थप उपचारका लागि ७९ जना बिरामीलाई नोबेल अस्पताल रेफर गरिएको छ । रेफर भएका बिरामीहरूलाई डा.शर्माले नोबेलकै गाडीमा अस्पताल ल्याउने र उपचार पश्चात घर पुर्र्याउँने व्यवस्था मिलाइदिएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!