- संगालोखबर सम्वाददाता

संखुवासभा । गत वैशाख ३० गते सम्पन्न संखुवासभाका १० स्थानीय तहका लागि उम्मेदवार बनेका ९५८ जनालाई निर्वाचन आयोगले जरिवाना तोकेको छ ।  स्थानीय तहमा उम्मेदवार बनेर खर्च विवरण पेस नगरेकाहरूलाई १८ करोड ९० लाख रुपैयाँ जरिवाना तोकेको हो ।

Advertisement

संखुवासभाका पाँच नगरपालिका र पाँच गाउँपालिकाका ३४ प्रमुख तथा उपप्रमुखका उम्मेदवारहरूले निर्धारित समयमा खर्च विवरण पेस नगरेको आयोगद्वारा सार्वजनिक सूचनामा उल्लेख गरिएको छ । नगरपालिकाका प्रमुख र उपप्रमुखले खर्च विवरण पेस नगरेको वा विलम्ब गरी पेस गरेकाहरूलाई जनही चार लाख ५० हजार रुपैयाँको दरले जरिवाना तोकिएको छ । सो अनुसार ३४ उम्मेदवारहरूले एक करोड ५३ लाख रुपैयाँ जरिवाना तिर्नु पर्ने भएको छ ।

आयोगका अनुसार नगरपालिकाको वडाका उम्मेदवार कसैले पनि तोकिएको समयभित्र विवरण पेस गरेका छैनन् । पाँच नगरपालिका अन्तरगत वडाका ५४२ अध्यक्ष तथा सदस्यहरूले खर्च विवरण नबुझाए बापत १० करोड ४८ लाख रुपैयाँ जरिवाना तोकेको छ । वडा अध्यक्ष तथा सदस्यहरूलाई जनही दुई लाख रुपैयाँ जरिवाना आयोगले तोकेको छ ।

गाउँपालिकातर्फ ४० अध्यक्ष तथा उपाध्यक्षका उम्मेदवारहरुले खर्च विवरण पेस नगरेको आयोगले जनाएको छ । उनीहरूलाई जनही तीन लाख ५० हजार रुपैयाँका दरले जरिवाना तोकिएको छ ।

निर्वाचन आयोग ऐन २०७३ अनुसार जरिवाना तिर्नु पर्नेहरूले अधिकतम ६ महिनाभित्र जरिवाना रकम जम्मा गरिसक्नु पर्नेछ । उक्त समयमा जम्मा नगरे निर्वाचितहरूको पद स्वतः बदर हुनेछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!