- संगालोखबर सम्वाददाता

मोरङ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले मंगलवार मोरङको क्षेत्र नं. ३ का तीन छुट्टा छुट्टै स्थानमा सञ्चालन गराएको निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार बिरामी लाभान्वित भएका छन् । डा.शर्माले नोबेल अस्पतालमार्फत बेलवारी वडा नं.१, सुन्दरहरैंचा वडा नं.१ र पथरीशनिश्चरे वडा नं.२ मा शिविर सञ्चालन गराएका हुन् ।

Advertisement

तीन वटा शिविरबाट ९ सय ६२ जना विरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको नोबेल अस्पतालले जनाएको छ । सुन्दरहरैंचा वडा नं.१ मा आयोजित शिविरमा ८५ जनाको इसीजी, २०९ जनाको रक्त परीक्षण र १७५ जनाको भिडियो एक्सरेसहित कुल ४३७ विरामीको स्वास्थ्य परीक्षण गरिएको छ । त्यस्तै दाँतमा समस्या भएर शिविरमा आएका २१ जनाको दाँत खोलिएको छ । नोबेलका छाती तथा फोक्सो रोग बिशेषज्ञ प्रा.डा.रामहरी घिमिरे र स्त्रीरोग विशेषज्ञ प्रा.डा. शान्ति सुवेदीसहितका डाक्टरहरुको टोलीले शिविरमा आएका विरामीहरुको स्वास्थ्य परीक्षण गरेको थियो ।

त्यस्तै, ज्येष्ठ नागरिकहरुलाई लक्षित गरेर बेलवारी वडा नंम्बर १ मा शिविर सञ्चालन गरिएको छ । शिविरमा १५१ जना विरामीको स्वास्थ्य परीक्षण गरिएको छ । शिविरमा ८९ जना विरामीको मुटुको जाँच इको गरिएको छ । नोबेलका मुटुरोग विशेषज्ञ प्रा.डा.राजेश नेपाल नेतृत्वको डाक्टरहरुको टोलीले विरामीको स्वास्थ्य परीक्षण गरेको हो ।

यता, पथरीशनिश्चरे वडा नं.२ मा पनि शिविर सञ्चालन गरी ३७४ जना विरामीको स्वास्थ्य परीक्षण गरिएको छ । शिविरमा स्त्रीरोग विशेषज्ञ डा.मुञ्जल यादव नेतृत्वको डाक्टरहरुको टोलीले ९७ जनाको इसीजी, १०२ जनाको रक्त परीक्षण र १०७ जनाको भिडियो एक्सरे गरेको छ । त्यस्तैगरी शिविरमा १६ जनाको दाँत पनि फुकालिएको छ ।

तीन वटै शिविरबाट थप उपचारका लागि १२३ जना विरामीलाई नोबेल अस्पताल रेफर गरिएको छ । सुन्दरहरैंचा–१ को शिविरबाट ४२, बेलबारी–१ को शिविरबाट ३७ र पथरीशनिश्चरे–२ को शिविरबाट ४४ जना विरामीलाई रेफर गरिएको नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । रेफर भएका विरामीहरुलाई डा.शर्माले नोबेलकै गाडीमा अस्पताल ल्याउँने र उपचार पश्चात घर पुर्र्याउँने व्यवस्था मिलाइदिएका छन् ।

बेलवारी घर भएका डा.शर्माले आफ्नो चुनावी क्षेत्रसमेत रहेको क्षेत्र नं. ३ मा वर्षौ अघिदेखि नोबेल मार्फत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गराउँदै आएका छन् । समाजसेवाका माध्यमबाट लोकप्रियता कमाएका डा.शर्मालाई अहिले नेपाली कांग्रेसले सोही क्षेत्रबाट प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेद्वार बनाउँन सर्वसम्मत सिफारिस गरेको छ । डा.शर्मा गत प्रतिनिधि सभा निर्वाचनमा पनि सोही क्षेत्रबाट उम्मेद्वार थिए, तर पराजित भए । चुनाव हारेर पनि डा.शर्मा सो क्षेत्रका जनताको सेवामा नियमित लागिरहेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!