- संगालोखबर सम्बाददाता

धनकुटा । प्रतिनिधि सभा सदस्य राजेन्द्र कुमार राईले आफ्नो करिब पाँच बर्षे कार्यकालमा विकास निर्माणका लागि धनकुटामा ३० अर्ब भन्दा बढी बजेट ल्याएको दावी गरेका छन् । आफ्नो कार्यकालमा भएका विकास निर्माणका गतिविधि सार्वजनिक गर्न सांसद राईले आज धनकुटामा पत्रकार सम्मेलन गरेर यस्तो दावी गरेका हुन् ।

Advertisement

आर्थिक बर्ष २०७५/०७६ देखि हालसम्म ३० अर्ब ६१ करोड ५५ लाख ५० हजार बजेट धनकुटामा भित्र्याउँन सफल भएको सांसद राईको भनाई छ । अरुण करिडोर (चतरा-लेगुवाघाट) निर्माण प्रकृया थालनीदेखि प्रदेशकै नमुना विद्यालय निजामती आवासीय विद्यालयको भवन निर्माण, जिल्लाका अन्य विद्यालयका भवन, स्वास्थ्य चौकी, सडक विस्तार जस्ता विकासका काम आफ्नो पहल र प्रयत्नमा भएको सांसद राइले बताए । राष्ट्रिय गौरवको आयोजना अरुण करिडोर निर्माणका लागि ७ अर्ब बजेट बिनियोजन गराउँन सफल भएको भन्दै उनले खुशी व्यक्त गरे ।

आर्थिक वर्ष २०७५/०७६ मा २ अर्ब ७६ करोड १० लाख ५० हजार, २०७६/०७७ मा १ अर्ब ६३ करोड ४१ लाख ५० हजार, २०७७/०७८ मा ३ अर्ब २ करोड ८८ लाख ५० हजार र २०७८/०७९ मा १२ अर्ब ७९ करोड ७५ लाख बजेट ल्याउन सफल भएको उनले बताए । त्यस्तै, चालु आर्थिक वर्ष २०७९/०८० मा ३ अर्ब ३९ करोड ४० लाख बजेट विनियोजन गरेर काम अगाडि बढेको भएपनि वर्तमान गठबन्धन सरकारले धनकुटाको विकास निर्माणको केही बजेट कटौती गरेको भन्दै सांसद राईले आक्रोश पोखे ।

अरुण करिडोर बाहेक पनि आफ्नो पहलमा २३ अर्ब ६१ करोड ५५ लाख ५० हजार बजेट ल्याएको उनको भनाई छ । सांसद राईका अनुसार धनकुटामा भौतिक पूर्वाधार निर्माण, कृषि, पर्यटन, शिक्षा, खानेपानी, स्वास्थ्य लगायतमा बजेटले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । आफ्नो पाँच वर्षे कार्यकालमा धनकुटाका सबै क्षेत्रलाई सडक सञ्जाल मार्फत जोड्न सफल भएको बताउँदै उनले आगामी दिनमा सडकहरूको स्तरोन्नतिका लागि पहल गर्ने प्रतिबद्धता जनाए ।

अन्य जिल्लाको भन्दा बढी बजेट धनकुटामा ल्याउन सफल भएको भन्दै उनले त्यसमा आफूलाई गौरव लागेको बताए । ‘मलाई धनकुटेली जनताले जिताएर पठाउँनु भयो, मैले सँधै धनकुटेली जनताको हितलाई शिरोधार्य गरेर काम गरेको छु, मेरो कार्यकालमा अन्य जिल्लाको भन्दा बढी बजेट धनकुटामा ल्याउन सफल हुँदा मलाई गौरव लागेको छ,’ सांसद राईले भने, ‘मैले हिजो पनि धनकुटेली जनताका लागि काम गरे, आज पनि गरिरहेको छु र भोलि पनि गरिरहनेछु ।’

धनकुटाको विकासका लागि आफूले धेरैपटक मन्त्रालयका कोठाकोठा चाहरेको उनले स्मरण गरे । तर, आफूले पहल गरेर ल्याएको बजेट र कतिपय विकास निर्माणका कामलाई अन्य नेताले जस लिने प्रयत्न गरेको भन्दै उनले त्यसप्रति दु:ख व्यक्त गरे । यसबीचमा आइपरेको कोरोनाको महामारीका कारण अझै सोचे अनरुप काम गर्न नसकेको उनको तर्क छ ।

राई २०७४ सालमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा धनकुटाबाट ३७ हजार ३ सय ३३ मतसहित बिजयी भएका हुन् । उनले तत्कालिन राप्रपाका उम्मेद्वार सुनिल बहादुर थापालाई १० हजार ४ सय ५९ मतान्तरले पराजित गरेका थिए । थापाले २६ हजार ८ सय ७४ मत ल्याएका थिए । नेकपा एमाले धनकुटाले आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनमा राईलाई पुनः उम्मेद्वार बनाउन सर्वसम्म रुपमा एकल सिफारिस पनि गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!