- संगालोखबर सम्वाददाता


मोरङ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले आइतबार मोरङको पथरीशनिश्चरे र बेलबारी नगरपालिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । नेपाली कांग्रेसका नेतासमेत रहेका नोबेल अस्पताल सञ्चालक डा.सुनिल शर्माले विपन्न बिरामीलाई लक्षित गर्दै पथरीशनिश्चरे वडा नं.२, ३ र बेलबारी वडा नं.४ मा शिविर सञ्चालन गराएका हुन् ।

तीन वटा शिविरबाट एकैदिन ९ सय १० जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । पथरीशनिश्चरे वडा नं.३ मा सञ्चालित शिविरमा ३४२ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । शिविरमा नोबेलका स्त्रीरोग विशेषज्ञ प्रा.डा.शान्ति सुवेदी नेतृत्वको टोलीले बिरामीको जाँच गरेको हो । त्यहाँ ८९ जनाको इसीजी, १०५ जनाको रक्त परीक्षण र ९३ जनाको भिडियो एक्सरे गरिएको छ । दाँतमा समस्या भएका २२ जनाको दाँत उखेलिएको छ भने थप उपचार गर्नुपर्ने ३१ जनालाई नोबेल अस्पताल रेफर गरिएको छ ।

Advertisement

त्यस्तै, ज्येष्ठ नागरिकहरूलाई लक्षित गर्दै पथरीशनिश्चरे–२ मा शिविर सञ्चालन गरिएको हो । शिविरमा उपचारका लागि १५१ जना बिरामी आएका थिए । जसमध्ये ९२ जनाको मुटुको जाँच इको गरिएको छ । नोबेलका मुटुरोग विशेषज्ञ प्रा.डा.राजेश नेपाल नेतृत्वको टोलीले बिरामीको स्वास्थ्य परीक्षण गरेको हो । शिविरबाट ४२ जनालाई थप उपचारका लागि अस्पताल पठाइएको छ ।

यता, नोबेलका छाती तथा फोक्सो रोग विशेषज्ञ प्रा.डा.रामहरी घिमिरे र स्त्रीरोग विशेषज्ञ प्रा.डा.सिता घिमिरे नेतृत्वको टोलीले बेलबारी–४ मा आयोजित शिविरमा बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ । उपचारका लागि ४१७ जना विरामी आएको सो शिविरमा १०४ जनाको इसीजी, ११३ जनाको ल्याबटेष्ट, १०१ जनाको भिडियो एक्सरे गर्नुका साथै १९ जनाको दाँत उखेलिएको छ । त्यहाँ उपचार हुन नसकेका ३५ जनालाई अस्पताल रेफर गरिएको छ ।

तीन वटै शिविरबाट थप उपचारका लागि १०९ जना बिरामी अस्पताल रेफर भएका हुन् । उनीहरुलाई नोबेल अस्पताल सञ्चालक डा.शर्माले अस्पतालकै गाडीमा ल्याएर उपचार गरी घर पुर्याउने व्यवस्था मिलाइदिएका छन् । डा.शर्माले विपन्न बिरामीलाई लक्षित गरेर बर्षौ अघिदेखि सो क्षेत्रमा नियमित निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गराउँदै आएका छन् ।

शिविरबाट ठूलो राहत मिलेको सो क्षेत्रका सर्वसाधारण बताउँछन् । नेपाली कांग्रेसका महासमिति सदस्यसमेत रहेका डा.शर्मा समाजसेवाका क्षेत्रमा सक्रिय छन् । समाजसेवी व्यक्तिको पहिचान बनाएका डा.शर्मालाई नेपाली कांग्रेस मोरङ क्षेत्र नं.३ ले आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेद्वार बनाउँन सर्वसम्मत सिफारिससमेत गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!