- संगालोखबर सम्वाददाता

मोरङ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले मंगलबार मोरङको क्षेत्र नं. ३ का तीन छुट्टा छुट्टै स्थानमा सञ्चालन गराएको निःशुल्क स्वास्थ्य शिविरबाट आठ सय भन्दा बढी बिरामी लाभान्वित भएका छन् । डा.शर्माले नोबेल अस्पतालमार्फत बेलवारी वडा नं.२, बेलबारी वडा नं.११ र पथरीशनिश्चरे वडा नं.३ मा शिविर सञ्चालन गराएका हुन् ।

Advertisement

तीन वटा शिविरबाट ८ सय ४ जना विरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको नोबेल अस्पतालले जनाएको छ । बेलबारी वडा नं.२ मा आयोजित शिविरमा ७५ जनाको इसीजी, ८९ जनाको रक्त परीक्षण र १०७ जनाको भिडियो एक्सरेसहित कुल २९२ बिरामीको स्वास्थ्य परीक्षण गरिएको छ । नोबेलका छाती तथा फोक्सो रोग विशेषज्ञ प्रा.डा.रामहरी घिमिरे नेतृत्वको डाक्टरहरूको टोलीले शिविरमा आएका बिरामीहरूको स्वास्थ्य परीक्षण गरेको थियो ।

त्यस्तै, ज्येष्ठ नागरिकहरूलाई लक्षित गरेर बेलबारी वडा नं.११ मा शिविर सञ्चालन गरिएको छ । शिविरमा १६५ जना बिरामीको स्वास्थ्य परीक्षण गरिएको छ । शिविरमा १३१ जना बिरामीको मुटुको जाँच इको गरिएको छ । नोबेलका मुटुरोग विशेषज्ञ प्रा.डा.राजेश नेपाल नेतृत्वको डाक्टरहरूको टोलीले बिरामीको स्वास्थ्य परीक्षण गरेको हो । यता, पथरीशनिश्चरे वडा नं.३ मा पनि शिविर सञ्चालन गरी ३४७ जना विरामीको स्वास्थ्य परीक्षण गरिएको छ । शिविरमा स्त्रीरोग विशेषज्ञ डा.तृप्ती यादव नेतृत्वको डाक्टरहरूको टोलीले ८७ जनाको इसीजी, ९१ जनाको रक्त परीक्षण र १२१ जनाको भिडियो एक्सरे गरेको छ ।

तीन वटै शिविरबाट थप उपचारका लागि १२५ जना विरामीलाई नोबेल अस्पताल रेफर गरिएको छ । बेलवारी २ को शिविरबाट ४२, बेलबारी–११ को शिविरबाट ५२ र पथरीशनिश्चरे–३ को शिविरबाट ३१ जना विरामीलाई रेफर गरिएको नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । रेफर भएका बिरामीहरूलाई डा.शर्माले नोबेलकै गाडीमा अस्पताल ल्याउँने र उपचार पश्चात घर पुर्र्याउँने व्यवस्था मिलाइदिएका छन् ।

बेलबारी घर भएका डा.शर्माले आफ्नो चुनावी क्षेत्रसमेत रहेको क्षेत्र नं. ३ मा बर्षौ अघिदेखि नोबेल मार्फत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गराउँदै आएका छन् ।

समाजसेवाका माध्यमबाट लोकप्रियता कमाएका डा.शर्मालाई अहिले नेपाली कांग्रेसले सोही क्षेत्रबाट प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेद्वार बनाउँन सर्वसम्मत सिफारिस गरेको छ । डा.शर्मा गत प्रतिनिधि सभा निर्वाचनमा पनि सोही क्षेत्रबाट उम्मेद्वार थिए, तर पराजित भए । चुनाव हारेर पनि डा.शर्मा सो क्षेत्रका जनताको सेवामा नियमित लागिरहेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!