- संगालोखबर सम्वाददाता

मोरङ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले आइतवार बेलवारीको डाँगिहाटस्थित माझी गाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । फोक्सो सम्बन्धि समस्या र स्त्रीरोग सम्बन्धि समस्या भएका विरामीहरुलाई लक्षित गर्दै एक दिने शिविर सञ्चालन गरिएको हो ।

नोबेलका प्रिन्सिपल एवं छाती तथा फोक्सो रोग बिशेषज्ञ प्रा.डा.रामहरी घिमिरे, स्त्रीरोग बिशेषज्ञ डा.सिता घिमिरेसहितका डाक्टरहरुको टोलीले विरामीको स्वास्थ्य परीक्षण गरेको छ । शिविरमा ८७ जनाको इसीजी, १०७ जनाको रक्त परीक्षण, १११ जनाको भिडियो एक्सरेसहित ३४४ विरामीको स्वास्थ्य परीक्षण गरिएको नोबेलका प्रवन्धक नारायण दाहालले जानकारी दिए । दाँतमा समस्या भएर शिविरमा आएका १९ जनाको दाँत खोलिएको छ ।

यता, शिविरमा उपचार सम्भव नभएका र थप उपचार गर्नुपर्ने ४७ जना विरामीलाई नोबेल अस्पताल रेफर गरिएको छ । उनीहरुलाई नोबेल अस्पताल सञ्चालक डा.सुनिल शर्माले नोबेलकै गाडीमा अस्पताल ल्याएर उपचार गरी घर पुर्याउँने व्यवस्था मिलाइदिएका छन् । डा.शर्माद्वारा सञ्चालित नोबेल अस्पतालले गरिब तथा बिपन्न विरामीलाई लक्षित गरेर बर्षौ अघिदेखि पूर्वी नेपालका गाउँ–गाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।

डा.शर्मा मोरङको बेलवारीका स्थायी बासिन्दा हुन् । नेपाली कांग्रेसका महासमिति सदस्यसमेत रहेका डा.शर्माको चुनावी क्षेत्र पनि भएकाले मोरङको क्षेत्र नं. ३ लाई उनले बिशेष प्राथमिकतामा राखेर स्वास्थ्य सेवा प्रदान गर्ने व्यवस्था मिलाउँदै आएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!