- संगालोखबर सम्वाददाता
फायल तस्बीर

झापा । झापाका छुट्टा छुट्टै तीन स्थानमा माछा मार्ने क्रममा करेन्ट लाग्दा तीन जनाको मृत्यु भएको छ । बुद्धशान्ति गाउँपालिका, हल्दिवारी गाउँपालिका र मेचीनगर नगरपालिकामा करेन्ट लागेर एक–एक जनाको मृत्यु भएको हो ।

बुद्धशान्ति गाउँपालिका–३ मा रहेको कुलोको पानीमा करेन्ट लगाई माछा मार्ने क्रममा आफैलाई करेन्ट लाग्दा पाँचथरको याङबरक गाउँपालिका–६ का ३२ बर्षीय कमल बराईलीको मृत्यु भएको छ । उनी बुद्धशान्ति–२ स्थित आफन्तको घरमा बस्दै आएका थिए । करेन्ट लाग्दा बराइली घाइते भएका थिए । उनलाई उपचारका लागि स्थानीय बुधबारेस्थित सीटी अस्पताल लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि विर्तामोडस्थित बीएण्डसी अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

त्यस्तै, झापाको हल्दिवारी गाउँपालिका–५ मा पनि माछा मार्ने क्रममा करेन्ट लाग्दा स्थानीय ६१ बर्षीय ओमबहादुर थाम्सुहाङको मृत्यु भएको छ । स्थानीय भुतेनी खोलामा करेन्ट लगाई माछामार्ने क्रममा उनलाई करेन्ट लाग्दा घटनास्थलमै उनको मृत्यु भएको हो ।

त्यस्तैगरी, मेचीनगर नगरपालिका–५ स्थित हडिया खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा मेचीनगर–११ धाईजनका ४७ बर्षीया सन्त चौधरीको मृत्यु भएको छ । करेन्ट लागेर गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागि धुलावारीस्थित आम्दा अस्पताल लगिएको थियो । त्यहीँ उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!