- रबिन कटेल/संगालोखबर

विराटनगर । प्रदेश नं. १ लाई साक्षर प्रदेश घोषणा गरिएको छ । अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा बिहीबार सामाजिक विकास मन्त्रालयले विराटनगरमा कार्यक्रम आयोजना गरेर साक्षर प्रदेश घोषणा गरेको हो ।

Advertisement

कार्यक्रममा प्रदेश १ का सभामुख प्रदिप कुमार भण्डारीले सामाजिक विकास मन्त्री राजन राईलाई साक्षर प्रदेश घोषणा प्रमाण पत्र प्रदान गर्दै प्रदेश १ साक्षर भएको घोषणा गरे । साक्षर घोषणामा प्रदेश १ तेस्रो बनेको छ, यसअघि दुई वटा प्रदेश साक्षर घोषणा भइसकेका छन् । सामान्य लेखपढ गर्न सक्नेलाई साक्षर मानिन्छ । प्रदेश १ का १५ देखि ६० वर्ष उमेरका मानिसको साक्षरता दर ९५ प्रतिशत भन्दा माथि पुगेको सामाजिक विकास मन्त्रालयको दावी छ । यसअघि प्रदेश १ का १४ वटै जिल्लालाई साक्षर जिल्ला घोषणा गरिसकिएको छ ।

प्रदेश १ मा पहिलो पटक २०७२ साउन ९ गते पाँचथरलाई साक्षर जिल्ला घोषणा गरिएको थियो । त्यसपछि ०७३ मा झापा, धनकुटा र ओखलढुंगा साक्षर जिल्ला घोषणा भए । ०७४ मा इलाम, खोटाङ, सुनसरी, तेह्रथुम र भोजपुर, ०७५ मा उदयपुर, ०७६ मा मोरङ, संखुवासभा र ०७८ मा ताप्लेजुङलाई साक्षर जिल्ला घोषणा गरियो । बाँकी रहेको सोलुखुम्बु पनि गत असार २६ गते साक्षर जिल्ला घोषणा भएपछि प्रदेशलाई साक्षर घोषणा गर्ने बाटो खुलेको हो ।

सामाजिक विकास मन्त्रालयका अनुसार साक्षर जिल्ला घोषणाको समयलाई आधार मान्दा प्रदेश १ मा १५ देखि ६० वर्ष उमेर समूहका ९६ दशमलव ७४ प्रतिशत मानिस साक्षर छन् । तथ्यांक अनुसार प्रदेश १ मा सबैभन्दा बढी संखुवासभामा साक्षरता दर ९९ दशमलव ०५ प्रतिशत छ भने सबैभन्दा कम उदयपुरको साक्षरता दर ९५ दशमलव ३२ प्रतिशत छ ।

साक्षरता अभियानका लागि प्रदेशमा साक्षरता अभियान प्रदेश समन्वय समिति गठन गरिएको थियो । प्रदेशका सबै जिल्लाको साक्षरता दर ९५ प्रतिशत माथि पुगेपछि सो समितिको गत भदौ १७ गतेको निर्णय बमोजिम प्रदेशलाई साक्षर प्रदेश घोषणा गरिएको हो । अब १५ देखि ६० उमेर समूहका बाँकी सबैलाई साक्षर बनाएर पूर्ण साक्षर प्रदेश घोषणा गर्ने प्रदेश सरकारको योजना छ । कार्यक्रममा पूर्ण साक्षर प्रदेश घोषणा गर्ने प्रतिवद्धता पत्रमा पनि हस्ताक्षर गरिएको छ ।

कार्यक्रममा बोल्दै सभामुख भण्डारीले साक्षरता दर वृद्धि गर्दै दक्ष जनशक्ति उत्पादनमा पनि सरकारले ध्यान दिनुपर्ने आवश्यकता ओल्याए । उनले बालमैत्री, अपांगमैत्री जस्ता घोषणामा पनि वडा र पालिकाहरूको ध्यान जानुपर्नेमा जोड दिए ।

सो अवसरमा सामाजिक विकास मन्त्री राजन राई, स्वास्थ्य मन्त्री जयराम यादव, खानेपानी सिचाई तथा उर्जा मन्त्री राम कुमार राई, सामाजिक विकास राज्य मन्त्री बिष्णु तुम्बाहाम्फे लगायतले साक्षरता प्रदेश घोषणाले प्रदेश १ को विकासमा एउटा इँटा थपेको भन्दै अब पूर्ण साक्षर प्रदेश घोषणामा सबैले ध्यान दिनुपर्नेमा जोड दिए ।

मेनरोडस्थित जैन भवनमा घोषणा सभा गरिएको हो । त्यसअघि बजारमा झाँकीसहित प्रभातफेरी निकालिएको थियो । शहीद मैदान नजिकबाट सुरु भएको प्रभातफेरी बजारका बिभिन्न भागको परिक्रमा गर्दै जैन भवनमा पुगेर घोषणा सभामा परिणत भएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!