- संगालोखबर सम्वाददाता

धनकुटा । अनैतिक सम्बन्धबाट जन्मिएको बच्चा मारेर फाल्ने व्यक्तिलाई ९ वर्षपछि धनकुटा प्रहरीले पक्राउ गरेको छ  । पक्राउ पर्नेमा भोजपुर नगरपालिका–४ का ४३ बर्षीय प्रेमकुमार राउत छन् । जिल्ला प्रहरी कार्यालय धनकुटाले मंगलबार पत्रकार सम्मेलन गरेर राउतलाई सार्वजनिक गरेको हो ।

राउत र एक महिलाबीचको अनैतिक सम्बन्धबाट जन्मिएको बच्चालाई उनीहरूले मारेर धनकुटा नगरपालिका–५ स्थित बिहिबारे हटिया नजिकको खोल्सीमा फालेका थिए । घटना २०७० असार ७ गतेको हो । भर्खर जन्मिएको नवजात शिशु खोल्सीमा मृत अवस्थामा भेटिएपछि प्रहरीले घटनाको अनुसन्धान गर्ने क्रममा महिलालाई पक्राउ गरेको थियो । उनी ५ वर्ष जेल बसेर अहिले छुटिसकेकी छन् ।

घटनापछि राउत फरार थिए । सो कसुरमा जिल्ला अदालत धनकुटाले २०७४ कात्तिक २० गते राउतविरुद्ध सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो । त्यसलाई उच्च अदालत विराटनगर धनकुटा इजलासले २०७५ असोज ८ गते सदर फैसला र सर्वोच्च अदालतले २०७६ बैशाख १६ गते अन्तिम जन्मकैदको फैसला गरेको थियो ।

अदालतबाट दोषी ठहर भएका राउतलाई प्रहरीले खोजिरहेको थियो । काठमाडौँको गौशला एरियामा नक्कली नाम बताएर होटल सञ्चालन गरी बसिरहेको सूचना पाएपछि पुगेको प्रहरी टोलीले राउतलाई त्यहीँबाट पक्राउ गरेर धनकुटा ल्याएको धनकुटाका प्रहरी प्रमुख एसपी लक्ष्मीराज अधिकारीले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!