- संगालोखबर सम्वाददाता

धनकुटा । आसन्न प्रदेश सभा निर्वाचनमा धनकुटाको प्रदेश सभा निर्वाचन क्षेत्र नं. (ख) का लागि नेकपा एमालेबाट जिल्ला अध्यक्ष इन्द्रमणी पराजुली उम्मेद्वार बन्ने निश्चित भएको छ । नेकपा एमाले धनकुटाको आज बसेको जिल्ला कमिटीको पूर्ण बैठकले जिल्ला अध्यक्ष पराजुलीलाई उम्मेदवारका लागि प्रदेश कमिटीमा सिफारिस गर्ने निर्णय गरेको हो ।

Advertisement

पराजुली अहिलेका बहालवाला प्रदेश सांसद पनि हुन् । उनी २०७४ सालको प्रदेश सभा निर्वाचनमा २० हजार ६ सय ५२ मतसहित बिजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमका अर्जुन थापाले ८ हजार २ सय ३१ मत ल्याए । थापालाई १२ हजार ४ सय २१ मतान्तरले पराजित गर्दै पराजुली प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् । उनी अहिले १ नं. प्रदेश सभाको न्याय प्रशासन तथा विधायन समितिका सभापति पनि छन् ।

यसअघि प्रदेश निर्वाचन क्षेत्रीय समन्वय कमिटीले पराजुलीसहित पाँच जनाको नाम जिल्ला कमिटीलाई सिफारिस गरेर पठाएको थियो । प्रदेश कमिटी सदस्य तथा प्रदेश सांसद हिमादेवी बस्नेत, प्रदेश कमिटी सदस्य तथा निवर्तमान जिसस प्रमुख टंक चुवान, जिल्ला सचिवालय सदस्य तथा महालक्ष्मी नगरपालिकाका प्रथम मेयर पर्शुराम नेपाल र सचिवालय सदस्य गोपाल भट्टराईको नाम पनि सिफारिस भएर आएको थियो । तर, जिल्ला कमिटीको बैठकले आकाङ्क्षीहरूबीच सहमति जुटाएर पराजुलीको मात्र नाम प्रदेश कमिटीमा सिफारिस गर्ने निर्णय गरेपछि अब उनी नै उम्मेद्वार बन्ने निश्चित बनेको हो ।

प्रदेश निर्वाचन क्षेत्रीय समन्वय कमिटी, जिल्ला कमिटी, प्रदेश कमिटी हुँदै केन्द्रिय कमिटीमा सिफारिस भएर पुगेका नाम मध्येबाट एक जनालाई टिकट दिने प्रावधान छ । तर, जिल्ला कमिटीबाट एक जनाको मात्र नाम सिफारिस भएपछि पराजुलीनै उम्मेद्वार बन्ने पक्का भएको हो । 

प्रतिनिधि सभा निर्वाचनको उम्मेदवारका लागि पनि धनकुटाबाट एमाले केन्द्रिय सदस्य राजेन्द्र कुमार राईको नाम सर्वसम्मत सिफारिस भएको छ । एकल नाम सिफारिस भएकाले राई पनि प्रतिनिधि सभा सदस्यको उम्मेद्वार बन्ने पक्का छ ।

यता, प्रदेश सभा निर्वाचन क्षेत्र नं. (क) मा भने सहमतिको प्रयास जारी रहेको एमालेले जनाएको छ । त्यहाँ आठ जनाको नाम सिफारिस भएर आएपनि प्रदेश उपाध्यक्ष टिकाराम चेम्जोङ्ग र जिल्ला सचिव निरन राई मध्ये एक जनाले टिकट पाउने सम्भावना प्रबल रहेको स्रोतले दावी गरेको छ । 

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!