- संगालोखबर सम्वाददाता

विराटनगर । प्रदेशको नामकरण नगरी प्रदेश १ को प्रदेश सभाको कार्यकाल सकिने निश्चित भएको छ । प्रदेश सभाको पहिलो कार्यकालको अन्तिम बैठक आज दिउँसो बस्दैछ । दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ । बैठकपछि आजै राति १२ बजेबाट चालु अधिवेशन अन्त्य हुने बताइएको छ ।

Advertisement

प्रदेशको राजधानी टुंगो लगाएपनि नाम भने राख्न नसकी प्रदेश सभाको पाँच वर्षे कार्यकाल अन्तिम क्षणमा पुगेको हो । पाँच वर्षे अवधिमा तीन वटा मुख्यमन्त्री फेरिएका छन् । तर, तीन वटै सरकारले प्रदेशको नाम टुंग्याउन औपचारिक प्रकृया नै अघि बढाएनन् । एकल जातीय पहिचान, साझा वा भूगोलका आधारमा नामकरण गर्ने भन्ने विषयमा दलहरू टुङ्गोमा नपुग्दा प्रदेशले नाम पाउन नसकेको हो ।

प्रदेशको नामकरणमा ढिलाई हुँदा बिभिन्न पक्षले नाममा आ–आफ्नो स्वार्थ खोज्न थालेपछि नामकरणको बिषय थप पेचिलै बन्दै गएर अन्ततः यो कार्यकालमा नामकरण नै हुन नसक्ने अवस्था सृजना भएको हो । पाँच वर्षमा पनि प्रदेशको नाम राख्न नसकेको भन्दै प्रदेश सरकारको चौतर्फी आलोचना भइरहेको छ ।

प्रदेश सभाको आजको बैठकमा उद्योग, पर्यटन तथा वातावरण समितिले आर्थिक वर्ष ०७८/७९ को वार्षिक प्रतिवेदन प्रदेश सभामा पेस गर्ने कार्यसूची छ । प्रदेश प्रज्ञा प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७८ माथि सोही समितिले तयार पारेको प्रतिवेदन पनि पेस हुने प्रदेश सभा सचिवालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!